गुल्मी- गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको संख्या बर्सेनी घट्दैगएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइको पछिल्लो तीन वर्षको तथ्यांकमा जिल्लामा प्रत्येक वर्ष एसईईका परीक्षार्थी घट्दै गएको देखिएको हो।
चैत १५ गतेदेखि सुरु हुन लागेको यस वर्षको एसइईमा यहाँ गत वर्षभन्दा यसवर्ष ६२५ जना कम देखिएको छ। यहाँका १३८ विद्यालयका चार हजार ९७ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्।
नियमित साधारणतर्फ तीन हजार ७७७ र नियमित प्राविधिक तर्फ २९५ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्। नियमित खुलातर्फ १३ र ग्रेड वृद्धितर्फ १२ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
२०७९ को एसईईमा यहाँका १४० विद्यालयका चार हजार ७२२ विद्यार्थी विभिन्न २८ परीक्षा केन्द्रमा सहभागी भएका थिए।
जसमा नियमित साधारणतर्फ चार हजार ३३०, नियमित प्राविधिकतर्फ ३४२, नियमित खुलातर्फ आठ र ग्रेड वृद्धितर्फ ४२ विद्यार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांकमा उल्लेख छ।
२०७८ को एसईईमा यहाँका १४० विद्यालयका चार हजार ८२३ विद्यार्थी विभिन्न २७ वटा परीक्षा केन्द्रमा सहभागी भएका थिए ।
जसमा नियमित साधारणतर्फ चार हजार ४९२, नियमित प्राविधिकतर्फ २८७, नियमित खुलातर्फ २१ र ग्रेड वृद्धितर्फ २३ विद्यार्थी सहभागी भएको तथ्यांकमा उल्लेख छ ।
यहाँको जन्मदर कम हुनु र बसाइँसराइले एसइईमा सहभागी हुने विद्यार्थीको संख्या घटेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनीले बताए।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्ला परीक्षा समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइले परीक्षाका लागि आवश्यक व्यवस्थापन गर्ने जनाइएको छ ।