काठमाडौँ- पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक र प्रारम्भिक बालविकास तहमा पहिलो पटक स्वीकृत मापदण्डमा आधारित एकीकृत पाठ्य सामग्री कार्यान्वयन गरेको छ।
केन्द्रले ‘प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम, २०७७’ अन्तर्गत पूर्वप्राथमिक र प्रारम्भिक बालविकास तथा शिक्षाका सिकाइसम्बन्धी पाठ्यसामग्री विकास गरेको हो।
शैक्षिक सत्र २०८१, २०८२ र २०८३ का लागि स्वीकृति प्राप्त पूर्वप्राथमिक तहको सिकाइ सामग्रीको सूची केन्द्रले वेबसाइटमार्फत सार्वजनिक गरेको छ । उक्त सूचीमा सिकाइ सामग्रीको नाम, बालबालिकाको उमेर समूह, प्रकाशकको नाम र ठेगानासमेतको विवरण समेटिएको छ।
यी उमेर समूहमा नर्सरी, एलकेजी, एसकेजी पर्दछन् । आगामी शैक्षिक सत्रका लागि मापदण्डअनुसार स्वीकृत १५ पब्लिकेसन्सले ‘इन्ट्रिगेटेड एड्भान्स्ड किड्स’ लगायतका पाठ्यसामग्री प्रकाशन गर्न थालेका छन्।
केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले ‘प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम(२०७७’ अनुसार पाठ्यसामग्री नयाँ शैक्षिक सत्रदेखि लागू हुने जानकारी दिए।
उनले यसबारे सम्बन्धित निकायलाई सूचित गर्न बेग्लै सूचना प्रकाशन गर्ने जनाउँदै स्वीकृत नभएका र विगतमा आफूखुसी प्रकाशन भएका सामग्री बिक्री वितरण नगर्न आग्रह गरे।
अनधिकृत पाठ्यसामग्री प्रयोग भए नभएको विषयमा शैक्षिक सत्र सुरु भएपछि अनुगमन गरी सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहको सहयोगमा कारबाही गरिने बताए।
त्यस्ता अनधिकृत सामग्रीलाई केन्द्रले जफत गरी प्रकाशन बन्द, जरिवानालगायतका कारबाही गराउन सक्नेछ। महानिर्देशक अर्यालले भने, 'स्वीकृत मापदण्डमा कुनै फरक पर्न गएमा पाठ्यसामग्री तथा मूल्यांकन समितिको सिफारिस तथा केन्द्रको आधिकारिक निर्णयअनुसार सुधार गरिनेछ। अनधिकृत सामग्री प्रयोग गर्न-गराउन पाइँदैन।'
पूर्वप्राथमिक शिक्षामा खासगरी निजी क्षेत्रका कतिपय विद्यालय बिनादर्ता सञ्चालनमा आएका सन्दर्भमा पाठ्य सामग्रीको प्रयोगले एकरूपता कायम भई बालबालिकाको सर्वांगीण विकासमा मद्दत पुग्ने ठानिएको छ।
हाल मुलुकभर सञ्चालित सरकारी बालविकास केन्द्रको संख्या ३३ हजार छ। निजी क्षेत्रबाट सञ्चालित कतिपय संस्थाले आफूलाई ‘मन्टेश्वरी’का रूपमा परिचित गराउँदै आएका छन्।
केन्द्रले तय गरेको पूर्वप्राथमिक र प्रारम्भिक बालविकास तथा शिक्षाका सिकाइसम्बन्धी पाठ्यसामग्री विकासका आधारमा सिकाइ सामग्रीले समेट्नुपर्ने समकक्षता, विषयवस्तु र क्षेत्र, आधारभूत सीप, विस्तृतीकरण, भाषिक तथा विधागत सीप, पृष्ठ संख्या आदि निर्धारण गरिएको छ। पाठ्य सामाग्रीमा बालबालिकालाई पढाएर भन्दा खेलाउने र पढाइ कम सिकाइ बढी रहेको छ।
समकक्षता निर्धारण गर्दा अभिव्यक्ति तथा सञ्चारका लागि भाषाको उपयोग, पोषणयुक्त खाद्य परिकारको पहिचान र दैनिक उपयोग, स्वास्थ्यकर बानी तथा असल सामाजिक व्यवहारको अनुसरण गरिएको छ।
यसैगरी आवश्यकताअनुसार नमुना प्रदर्शन, वैयक्तिक सुरक्षाका उपायको अवलम्बन, दैनिक व्यवहारका कार्य, सर्वांगीण विकासका क्रियाकलापमा संलग्नता र तिनको आधारभूत सीपको प्रयोग गर्न भनिएको छ।
अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले बोझिला पुस्तक लागू नगरी स्वीकृत र सरल पाठ्यसामग्री लागू हुनु सकारात्मक भएको बताए।
काठमाडौँको ‘अंकुर प्रिस्कुल’ का प्रिन्सिपल सिर्जना पोखरेलले केन्द्रले यसअघि नै कक्षा १, २ र ३ मा एकीकृत पाठ्यक्रम लागू गरेकाले तल्ला तहमा पनि सोही प्रबन्ध गर्दा बालबालिकाको सिकाइ निरन्तरता र बहुआयामिक सिकाइमा सकारात्मक प्रभाव पर्ने बताए। रासस