काठमाडाैँ- जापान नेपाली विद्यार्थीको रोजाइको शैक्षिक गन्तव्य हो। जापानमा अध्ययन गर्न जाने उद्देश्य बोकेका विद्यार्थीले शैक्षिक परामर्श दातृसंस्था छनोट गर्नेदेखि जापानको शिक्षणसंस्था र त्यहाँको शिक्षा प्रणाली, नीति नियम, बसोबार, पूर्वाधार लगायतका विषयमा ध्यान दिनु जरुरी छ।
जापान जापानीज भाषा बोलिने मुलुक भएकाले त्यहाँ जानु अघि जापानीज भाषामा जान्नु अनिवार्य सर्त हो। भाषागत ज्ञान नभइ विद्यार्थी जापान जाँदा दुःख पाउन सक्छन्। विद्यार्थीको रुपमा उनिहरूले त्यहाँ हप्ताको २८ घण्टा काम गर्न पाउछन्। विद्यार्थीले सोमबार देखि शुक्रबारसम्म नियमित स्कुल जाने कुरामा ध्यान दिनुपर्छ।
विद्यार्थीले भाषा अध्ययन पश्चात भोकेसनल एजुकेसन तर्फ लाग्ने कि विश्वविद्यालय शिक्षा लिने भन्ने विषय पहिले नै तय गर्नु उपयुक्त हुन्छ। उच्च शिक्षा अध्ययन गर्नलाई जापानीज भाषामा दक्षता हासिल गर्नु अनिवार्य छ भन्ने कुरा विद्यार्थीले बिर्सिनु हुँदैन।
विद्यार्थीले जापानका स्कुलको भर्ना समय (जनवरी, अप्रिल, जुलाई र अक्टुवर) गरि चारवटा इन्टेकको बारेमा बुझेर मात्र जानु उपयुक्त हुन्छ। कुन इन्टेकमा गयो भने कति समय पढ्नुपर्छ? भन्ने विषयमा परामर्श व्यवसायीबाट जानकारी लिएर मात्र जानुपर्छ। जापानको शिक्षा प्रणाली, त्यहाँको भौतिक शैक्षिक वातावरण र पार्टटाइम कामको बारेमा बुझेर जानु उपयुक्त हुन्छ।
ध्यान दिनुपर्ने कुरा
१. अनुभवि र दक्ष शैक्षिक परामर्शदातृ संस्थाबाट परामर्श सेवा लिने।
२. जापान अध्ययनमा जानुको उद्देश्य क्लियर गर्ने।
३. आफू जान चाहेको स्कुल र शहरको बारेमा जानकारी लिने।
४. परामर्शदातृ संस्थाले जापानीज स्कुल र त्यहाँको शैक्षिक प्रणालीका बारेमा भनेका कुरा सत्यतथ्य छ कि छैन? इन्टरनेटको माध्यमबाट चेक गर्ने।
५. स्कुल र कलेजमा बस्ने सुविधा छ कि छैन त्यसबारेमा बुझ्ने, यदि शुल्क लाग्छ भने कति शुल्क लाग्छ? त्यस विषयमा जानकारी लिनु पर्छ।
६. जापानमा भाषा अध्ययन गरेर मात्र जानुपर्छ। त्यसका लागि नेपालमा भएका भाषा स्कुलमा गएर अध्ययन गरेर जापानीज भाषा परीक्षाको एनफोर लेभल उत्तिर्ण गरेर मात्र जानु उपयुक्त हुन्छ।
७. जापानमा गएर कति समय काम गर्न पाइन्छ? जापानमा बसोबास र यातायातका नियम कानुन के – के छन्? सबै कुरा बुझेर मात्र जानुपर्छ।
८.जापानमा गएर पढाइलाई प्राथमिकतामा राख्छु भन्ने विषयमा विद्यार्थी पूर्णरुपमा तयार हुनुपर्छ। त्यहाँ विनाकारण एक दिन पनि स्कुल मिस गर्नु हुँदैन।
९. जापान जाने वित्तिकै काम गरेर शिक्षणशुल्क तिर्न सकिन्छ भन्ने सोच्नु हुँदैन। एक वर्षको शिक्षणशुल्कको जोहो नेपालबाटै गरेर जानुपर्छ।
१०. जापानमा गएपछि आफूले भोग्ने दैनिकी, रोजागारी र उच्च शिक्षाको विषयमा पनि नेपालमै योजना बनाएर जानु उपयुक्त हुन्छ।
जापान जानुअघि गर्नुपर्ने तयारी
१. विद्यार्थीले जापान अध्ययनमा जानुअघि भाषागत दक्षता हासिल गर्ने।
२. जापान जाँदा लैजाने पैसा र कति सामान लान पाइन्छ, यस विषयमा जानकारी लिने।
३. जापानमा आफूलाई प्रयोग हुने सामान जाने वित्तकै किन्न पनि नसकिने भएकाले जापानमा प्रयोग हुने सामान खरिद गर्दा आफ्नो आवश्यकता र जापानको मौसमलाई ख्याल गर्ने।
४.शौन्दर्यका सामाग्री, आफूलाई चाहिने औषधि र अन्य सामानहरू जादाँ जापानको नियम कानुन अनुसार लान मिल्ने सामान हो कि होइन ख्याल गर्नुपर्छ।
५.भाषा स्कुलमा पुग्नुपर्ने मिति भन्दा दुईदिन अघि नै जापान जानु उपयुक्त हुने भएकाले सोहि अनुसार प्लेनको टिकट लिनु उपयुक्त हुन्छ।
६.जापानमा यात्रा गर्दा सुरुका दिनमा केही असहज हुने भएकाले आफू बस्ने ठाउँ र यातायातको बारेमा बुझेर जानुपर्छ।
७.एअरपोर्टबाट होस्टेल वा बस्ने कोठासम्म रिसिभ गर्न आउन सक्ने व्यक्ती नेपालमै खोजी गरेर जाँदा सहज हुन्छ।
८.जापानमा गएर विमा र काम गर्ने अनुमति पत्र लिने विषयमा जानकारी लिएर मात्र जानुपर्छ।
९.जापानमा गएर खोल्ने बैंक खाता र सिमकार्ड लिदा आवश्यक पर्ने कागजपत्रको बारेमा जानकारी लिएर जानु उपयुक्त हुन्छ।
१०.जापानी भाषामा गरिने आदर सत्कारहरू नेपालबाटै सिकेर जाँदा सहज हुन्छ।
लेखक मिसाकी जापानीज इन्टरनेसनल ल्याङ्वेज एजुकेसन सेन्टरका प्रवन्ध निर्देशक हुन्।उनीसँग परामर्श लिएर जापान जाने साेचमा हुनुहुन्छ भने यहाँ सम्पर्क गर्नुहाेस्।