काठमाडौँ- विश्वविद्यालय शिक्षाकाे गुणस्तर सुधार गर्नुपर्नेमा ईडीयू क्लेभका वक्ताहरूले जाेड दिएका छन्।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले काठमाडौँमा आयोजना गरेको 'प्रगतिको बाटो विश्वव्यापी शिक्षाको परिप्रेक्ष्य गतिशीलता' भन्ने शीर्षकमा बोल्दै वक्ताहरूले वर्तमान नेतृत्वले शिक्षालाई हेर्ने कमजोर आधार, कम अध्ययनरत राजनीतिज्ञको बर्चस्व र विश्वविद्यालमा देखिएकाे राजनीतिक प्रभावका कारणा नेपालका विश्वविद्यालमा विद्यार्थीकाे आकर्षण घटेकाे बताएका हुन्।
यससँगै विदेश अध्ययनमा जान चाहने विद्यार्थीकाे संख्या बढेकाे र सरकार यस विषयमा जिम्मेबार बन्न नसकेकाे आराेप उनीहरूकाे छ।
कार्यक्रममा बाेल्दै नेपाली कांग्रेसका नेता एवं सांसद उदय शमशेर राणाले पछिल्लो समय राजनीतिज्ञमा भने अध्ययनले समाजमा असर पार्छ भन्ने भाव आएको बताए। उनले यही कारण पछिल्लो समय राजनीतिमा पढेका व्यक्तिको प्रवेश भएको उल्लेख गरे।
राणाले पहिले जेल गएकाले मात्र राजनीति गर्न सकिन्छ भन्ने भास्य भए पनि अहिले त्यो भास्य गलत हुँदै गएको प्रस्ट पारे। कार्यक्रममा बोल्दै राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रकुमार क्षेत्रीले मुलुकलाई निर्माण गर्ने खाका राजनीतिज्ञहरूसँग नभएको बताए।
उनले यही कारण विद्यार्थीहरु पलायनको बाटो लागेको सुनाए। उनले अधिकांश युवाले देशमा भविष्य छैन भन्ने धारणा बनाएको क्षेत्रीको भनाइ थियो।
यस्तै, ब्रिटिस काउन्सील नेपालकी निर्देशक प्रतिष्ठा थापाले राज्यलाई कुनै युवा अध्ययनमा विदेश गएपछि फर्किन्छ भन्ने विश्वसनीयता नभएको प्रष्ट पारेकी छन्। यही कारण विदेशिएको विद्यार्थीलाई गलत नजरले हेर्दा विद्यार्थी नेपाल नफर्किने गरेको उनको बझाइ छ। थापाले देशमा हरेक क्षेत्रमा फस्टेसन बढेकाले युवा जनशक्ति बाहिरिन चाहेको बताएकी छन्। पछिल्लो समय युवाहरू देखासिकीका कारण, पढाइसाथै रोजगारीको अवसर, आर्थिक बाध्यताजस्ता कारणले युवा विदेशिने गरेको बताइन्।
यस्तै, संवादमा ग्लोबल डेभलपमेन्ट एक्सपर्ट डा. कृष्ण श्रेष्ठले शिक्षा भनेको शक्ति हो भन्ने जानेकाले युवाहरू पढाइमा लाग्ने गरेको सुनाए।
कार्यक्रममा डा. राजीव सुब्बाले देशको स्थितिकै कारण जर्बजस्ती विद्यार्थीलाई देशमा राख्न नसकिने अवस्था आएको बताए।