काठमाडौँ- राजनीतिज्ञ र व्यवसायीले 'नलेज इकोनोमी' बिना देश विकास संभव नभएकाे बताएका छन्।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले काठमाडौँमा आयोजना गरेको ज्ञान अर्थतन्त्र र नेपालको उद्यमशीलता पहिचान विषयक ईडीयू क्लेभकाे तेस्राे सेसनमा बाेल्दै वक्ताहरूले देशमा शैक्षिक जनशक्ति बस्ने वातावरण बनाउन र विदेश गएका युवालाई स्वदेश फर्काएर ब्रेनगेन गर्न आवश्यक रहेकाे बताएका हुन्।
बहसमा बोल्दै पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आइटी(इन्फरमेसन टेक्नोलोजी) क्षेत्र नै अबको युवाको रोजगारीको माध्यम बनेको बताए। उनले अब युवाहरूले सफ्टवेयर बेचेर भए पनि स्वरोजगार बन्न सक्ने जानकारी दिए। यसका लागि राज्यबाट कर छुट र विषयगत विषयको ज्ञानको आवश्यक गर्ने डा. महतको भनाइ छ। पूर्व अर्थमन्त्री महतले नलेज इकोनोमी विना विकास संभव नभएको स्पष्ट पारे।
उनले आफूले सरकारमा रहँदा समेत आईटी क्षेत्रलाई प्राथमिकतामा राखेर वजेट छुट्याएको जानकारी दिए। उनले देशमा राजनीतिक अस्थिरताले युवाहरू पलायन भएकाे बताए।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले युवाहरू विदेश जानुलाई नकारात्मक रूपमा लिन नहुने बताए। उनले युवा पलायन हुनु गलत भए पनि अध्ययन र रोजगारीका लागि जानुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए।
नेता झाले नेपालले विदेश गएका युवाबाट मुनाफा लिन नसकेको जानकारी दिए। एनआरएनलाई राजनीतिकरण गर्नाले पर्याप्त फाइदा लिन नसकिएको झाको भनाइ थियो। झाले समेत आईटीबाट नेपालले पर्याप्त फाइदा लिनुपर्ने कुरामा जोड दिए। उनले पर्यटनले भन्दा आईटीबाट देशमा बढी रोजगारी लिन सकिने बताए।
यस्तै, कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले आफूहरूले युवालाई स्वदेशमा राख्न स्थानीय उत्पादन प्रयोगमा बढावामा दिएको जानकारी दिए। उनले युवालाई उद्यममा जोड्न उद्यम प्रतिस्पर्धा समेत कार्यक्रम अघि बढाइरहेको बताए।
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले लगानी र पानी उस्तै विषय रहेको बताए। उनले पानी पनि तलतिर बग्ने लगानी पनि तल नै बग्ने उदाहरण दिए। उनले देशमा लगानी गर्न नीतिगत सुधार हुनुपर्ने सुझाव दिए।
कार्यक्रममा बोल्दै बाह्रखरीका प्रधान सम्पादक प्रतिक प्रधानले नेपालका नागरिकलाई नलेज इकोनोमी नभएको बताए। प्रधानले ज्ञान लिएर उद्यमशिलता गर्ने नेपालीको संख्या अत्यन्तै कम भएको जानकारी दिए। यसमा पत्रकारले समेत कमजोर रहेको उनको भनाइ थियो।