काठमाडाैँ- प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले सातै प्रदेशमा आंगिक नर्सिङ कलेज सञ्चालन गर्ने तयारी गरेको छ। सीटीईभीटीले आगामी शैक्षिक सत्रदेखि पीसीएल नर्सिङ कार्यक्रम सुरु गर्नेगरी प्रक्रिया अघि बढाएको हो।
त्यसका निम्ति कार्यदल बनाएर पूर्वाधार, जनशक्ति लगायतको अध्ययन भइरहेको सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले बताए। उनले भने,'सीटीईभीटीले कम्तीमा एकसय बेडका प्रादेशिक अस्पतालहरूसँग सम्झौता गरी पीसीएल नर्सिङ पढाइ सञ्चालन गर्न लागेको छ। साविकका अञ्चल अस्पतालहरूमा पीसीएल नर्सिङ र पारामेडिक्स कार्यक्रम सञ्चालन गर्ने गरी छलफल भइरहेको छ।'
यसबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको पत्राचारमा सीटीईभीटीले आफ्नो मातहतमा कलेज सञ्चालन गर्ने र प्रशासनिक तथा पूर्वाधार खर्च सरकारले व्यहोर्नुपर्ने राय दिएको उनले बताए।
सीटीईभीटीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम मापदण्ड पुगेका चारवटा नर्सिङ क्याम्पसलाई पीसीएल नर्सिङका निम्ति सम्बन्धन दिने तयारी गरेको छ। ऐनअनुसार आफ्नै एकसय बेडको अस्पताल बनाइ आवेदन दिएका २५ मध्ये चारवटालाई आगामी शैक्षिक सत्रदेखि पढाई सुरु गर्नेगरी सम्बन्धनको प्रक्रिया अघि बढाएको उपाध्यक्ष अधिकारीले बताए। उनका अनुसार अन्य क्याम्पसको हकमा भने भौतिक पूर्वाधार तथा जनशक्ति लगायतका मापदण्डको अनुगमनको क्रममा छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १२ (क)मा ‘विद्यार्थीको पढाइ र अभ्यासको लागि मेडिकलतर्फ कम्तीमा तीनसय तथा डेन्टल र नर्सिङतर्फ एकसय शैयाको अस्पताल सञ्चालन नभएसम्म र आयोगले तोकेको अन्य मापदण्ड पूरा नगरेमा सम्बन्धित विषयको कार्यक्रम सञ्चालन शिक्षण संस्थालाई आशय पत्र प्रदान गरिने छैन’ भन्ने उल्लेख छ। तर, आयोगले ऐन लागु भएपछि भने एकसय बेडको अस्पताल नभएका कारण निजी क्षेत्रबाट सञ्चालित १०९ वटा क्याम्पसमध्ये ७८ वटा पीसीएल नर्सिङ कार्यक्रम बन्द गर्न निर्देशन दिएकाे थियाे।
सीटीईभीटीले कोरोनाकालमा स्तरोन्नति अवरुद्ध भएकाले थप दुई वर्ष ‘ग्रेस’ निजी कलेजहरूलाई दिनुपर्ने सीटीईभीटीले प्रस्ताव गरेको थियो। सो सम्बन्धमा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गत पुस २५ गते शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो।
यस्तै, चिकित्सा शिक्षा ऐन, २०७५ को व्यवस्थाबमोजिम दुई वर्षभित्र आफ्नै अस्पताल सञ्चालन हुनुपर्ने व्यवस्था भएकोमा कोभिड-१९ को शून्य समयको कारणले आफ्नै अस्पताल बनाउन नसकेका संस्थाहरूको हकमा हाललाई नर्सिङ शिक्षाको गुणस्तर कायम गर्न प्रयोगात्मक अभ्यासको सुनिश्चितताका लागि एक सय शैयाको अन्य कुनै पायक पर्ने अस्पताल (सरकारी, निजी, गैरसरकारी) सँग सम्झौता गरी सो कार्यक्रम सञ्चालन गर्ने पनि निर्देशन दिइएको थियो।
तर, शिक्षा मन्त्रालयले भने निजी क्याम्पसहरूको हकमा तत्काल खुकुलो नगर्ने अडान लिएको छ। शिक्षासचिव सुरेश अधिकारी बन्द निजी नर्सिङ कलेजलाई आफ्नै एकसय शैयाका अस्पताल नभए पनि सञ्चालन गर्न दिने समितिको निर्देशन कार्यान्वय गर्न नसकिने बताउँछन्।
नेपालमा हाल ५८ वटा प्रतिष्ठान तथा ३१ वटा निजी क्याम्पसबाट पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन भइरहेको छ। यस्तै सीटीईभीटीका ६५ आंगिक क्याम्पसमध्ये केहीले पीसीएल नर्सिङ, पारामेडिकल तथा स्वास्थ्यका अन्य केही कार्यक्रम सञ्चालन गरेका छन्।