काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले विश्वविद्यालय शिक्षा सुधार गर्दै युवामा देखिएको नैरास्यतालाई चिर्न आवश्यक रहेको बताएका छन्।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको (ईडीयू क्लेभ) कार्यक्रममा बोल्दै डा रिजालले विश्वविद्यालय शिक्षामा सुधार गर्दै नेपालमा पनि केही गर्न सकिन्छ भन्ने आशा जगाउन आवश्यक रहेको बताएका हुन्।
कार्यक्रममा बोल्दै नेता रिजालले विदेश अध्ययनका नाममा ठूलो धनरासी विदेशीएको र यसलाई राज्यले पनि गम्भिर रुपमा लिनुपर्ने बताए। ‘कोभिड महामारी पश्चात प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने अवस्था छ। विद्यार्थीलाई विदेश पठाउने मात्र होइन नेपालको शिक्षा क्षेत्रमा जोड्न पनि काम गर्नुपर्नेछ। नेपालको शिक्षालाई सुधार गर्न आवश्यक छ। अहिले विदेश अध्ययनका नाममा हरेक दिन ३ सय विद्यार्थी विदेशीएका छन्’, उनले भने।
नेता रिजालले शिक्षामा देखिएको निराशालाई चिर्न नेपालमा पनि भविष्य छ भनेर हामीले देखाउन सक्नुपर्नेमा जोड दिए। विदेशमा आफ्नो शिक्षाको अनुभवबारे जानकारी दिदैँ नेता रिजालले भने,‘विदेशको अनुभवलाई नेपालमा पनि प्रयोग गर्न सकिने वातावरण बनाउन सक्नुपर्छ।’
उनले सरकार यस विषयमा गम्भिर भएर नेपालबाट विदेश जाने युवा र विद्यार्थीको विषयमा सचेत बनेर नयाँ योजना अख्तियार गर्न सुझाब दिए।
चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक शिक्षाको नाममा ६६ अर्ब ६४ करोड रुपैयाँ बाहिरिएको छ। अघिल्लो आर्थिक वर्ष, २०७९/८० मा यही शीर्षकमा एक खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो।
पछिल्लो १७ महिनाको तथ्याङ्कलाई हेर्दा वैदेशिक शिक्षाकै नाममा १ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ विदेशीएको छ।