काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले शिक्षा क्षेत्रमा राज्यले गरेको लगानी परिणाममुखी हुन नसकेको बताएका छन्।
शिक्षाको लगानीलाई परिणाममुखी बनाउन सबै पक्षको साझा प्रयत्न गर्न आवश्यक रहेको उनको भनाइ छ।
‘अहिले राज्यले शिक्षामा थोरै लगानी त गरेको छ तर त्यो पनि बालुवामा पानी हालेजस्तै खेर गइसकेको छ’, आज बालाजुस्थित बालबाटिका इन्टरनेशनल स्कुलको १९औँ अभिभावक दिवस कार्यक्रममा पौडेलले भने, ‘शिक्षाको लगानीलाई परिणाममुखी बनाउन हामीले साझा प्रयत्न गर्न आवश्यक छ।’
प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा पौडेलले शैक्षिक क्षेत्रमा काम गरेकाहरूको अनुभवलाई समेटेर प्रभावकारी नीति निर्माण हुनुपर्नेमा जोड दिए।
अहिलेको शिक्षा विधेयकले समेत धेरै कुरालाई समेट्न नसकिरहेको उल्लेख गर्दै उनले त्यसमा पनि छलफल अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। देशमा बालबाटिकाजस्ता निजी स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए।
व्यक्तिभित्र आत्मविश्वास भर्न शिक्षाकै भूमिका हुने उल्लेख गर्दै पौडेलले सोहीअनुसार विद्यालयले भूमिका खेल्नुपर्नेमा जोड दिए। यस्तै व्यवस्थित व्यक्तिले मात्रै देशको नेतृत्व गर्न सक्ने भन्दै पौडेलले भने, ‘अव्यवस्थापनबाट नेतृत्व सम्भव छैन । मान्छेले नेतृत्व प्रदान गर्न त्यतिबेला सक्छ जति बेला ऊ आफैँ व्यवस्थित हुन्छ । समयको सदुपयोग गर्ने सवालमा व्यवस्थित मान्छेले मात्रै प्रगति गर्न सक्छ ।’
यो विषयलाई विद्यालय तहबाटै विद्यार्थीलाई बुझाउने र त्यस ढङ्गबाट उसलाई अभ्यस्त गर्ने स्थिति बन्नुपर्ने उनको धारणा थियो । सँगसँगै विद्यार्थीलाई विद्यालयको अतिरिक्त अभिभावकले पनि समय र सोहीअनुसार तयार गर्नुपर्नेमा उहाँले जोड दिए।
कार्यक्रममा पूर्वसचिव रामप्रसाद थपलियाले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको आफूले पाएको भन्दै आगामी दिनमा थप सफलताको कामना गर्नुभयो ।
नेशनल मोडल स्कुलका प्रधानाध्यापक डीएन अधिकारी, नेपाल राष्ट्रिय विद्यालयका प्रधानाध्यापक निर्मला शाक्य, एनआर कलेजका अध्यक्ष त्रिचवरध्वज थापालगायतले पनि आ–आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रधानाध्यापक राजेश खकुरेलले अभिभावकलगायत सबै पक्षको साथ तथा सहयोगले विद्यालय अहिलेको अवस्थामा आइपुगेको भन्दै आभार प्रकट गरे। उनले विद्यालय थप स्तरीय बनाउन अभिभावकबाट निरन्तर सल्लाह सुझावको अपेक्षा पनि गरे।
अध्यक्ष रमेश प्रसाईँले सुविधा सम्पन्न भवनबाट विद्यालयले अनुभवी शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए।
अभिभावक दिवसका अवसरमा बालबालिकाले विभिन्न गीत, नृत्य, तेक्वान्दोलगायतका प्रतिभा देखाएर उपस्थितलाई मनोरञ्जन दिलाएका थिए। राजधानीको बालाजु–नेपालटारमा रहेको बालबाटिका स्कुलमा कक्षा १ देखि १० सम्म पठनपाठन गराउँदै आएको छ । विद्यालयले सर्वसुलभ शुल्कमा स्तरीय पठनपाठन गराउँदै आएको जनाएको छ । सोही कार्यक्रममा स्कुलको पहिलो स्मारिका ‘द मिरर’ समेत बिमोचन गरिएको थियो ।