काठमाडाैँ- जापान नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको रोजाइको दोस्रो ठूलो शैक्षिक गन्तव्य हो। प्रत्येक वर्ष हजारौँको संख्यामा नेपाली विद्यार्थी जापानमा अध्ययनका लागि जाने गरेका छन्।
गत वर्ष जापानमा अध्ययन गर्न जान नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २१ हजार ६ सय ९१ जना विद्यार्थीले विदेश अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए। यस वर्ष यो संख्यामा अझै वृद्धि हुन सक्ने देखिएको छ।
सन् १९५६ सेप्टेम्बर १ तारिकका दिन नेपाल र जापानबीच औपचारिक रुपमा कुटनैतीक सम्बन्ध स्थापना भएपछि सन् १९०२ मा नेपाल सरकारले खनिज, मेकानिकल, खरखजाना प्रविधि, कृषिबारे अध्ययन गर्न आठ जना नेपाली युवाहरूलाई जापान पठाएको थियो।
नेपाली विद्यार्थीहरू ३ वर्षको अध्ययन पूरा गरी जापानबाट सन् १९०५ मा नेपाल फर्केका थिए। उनिहरू नेपाल फर्कदा निललहर, हलुवा बेद, कटुस र गोदावरी फूलका बिउ पनि सँगै ल्याएर नेपालमा रोपेका थिए। त्यसयता नेपालबाट विद्यार्थीहरू जापान जाने क्रम चलिरहेको छ। हाल जापानमा रहेका विदेशी विद्यार्थीहरूमा नेपाली तेस्रो नम्बरमा रहेका छन्। उनीहरू १ लाख ५६ हजारको हराहारीमा जापानमा बसोवास गरिरहेको जापानीज राजदुताबासको तथ्याङ्क छ।
जापान जाने नेपाली विद्यार्थीको संख्या बढेसँगै चुनौतीहरू पनि थपिएका छन्। सामान्यतया जापान पढाइ र अवसर दुवै राम्रो भएको देश हो। नेपाली मध्यम वर्गका विद्यार्थी पनि जापानमा गएर आफ्नो भविष्य निर्माण गर्न सक्छन् भन्ने पुष्टि भइसकेको छ। यसका थुप्रै उदाहरण पनि छन्। जापानमा अध्ययन पश्चात विश्वका प्रतिस्ठित कम्पनिमा रोजगारीको अवसर समेत पाएका छन्।
पछिल्लो समय जापानको जनसंख्या घट्दै गएकाले पनि विदेशी विद्यार्थीले अध्ययन पश्चात रोजगारीको अवसर प्राप्त गर्न सहज भएको छ।जापानमा नेपालको जस्तो घोकाएर पढाउने शिक्षण पद्धति छैन। त्यसैले पनि जापानको शिक्षणपद्धति नेपाली विद्यार्थीका लागि भिन्न हुन्छ। त्यहाँको शिक्षा सीपमुलक र व्यवहारिक हुन्छ। उच्च दक्षता हासिल गरेका प्राध्यापकहरूले मात्र पढाउने भएकोले शैक्षिक गुणस्तर राम्रो हुन्छ। जापानले उच्च शिक्षालाई प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिदैँ आएको छ।
विद्यार्थीले जापानमा अध्ययन पश्चात ‘स्टुडेन्स भिसा’लाई वर्किङ भिसामा परिवर्तन गर्न पाउछन्। उनीहरूले आफूले सिकेको सीपलाई प्रयोग गर्न सक्छन्। नेपालमा उच्च शिक्षा हाँसिल गरेका व्यक्ती पनि वेरोजगार हुनुपर्ने अवस्था छ। तर, जापानमा अध्ययन पश्चात वेरोजगार हुनुपर्ने समस्या न्युन छ।
नेपालबाट जापान अध्ययन गर्न जान चाहने विद्यार्थीहरूले उपलब्ध गराउने कागजपत्रहरूमा एकरुपता आवश्यक छ। कतिपय विद्यार्थीहरूले आवश्यक काजगपत्रहरूमा एकरुपता नभएका कारण जापानको भिसा प्राप्त गर्न सकेका छैनन्।
भाषागत दक्षता
सामान्यतया जापानी विश्वविद्यालयमा अध्ययन गर्नको लागि जापानी भाषा परीक्षाको ‘एन टु’ तह उत्तिर्ण गरेको हुनुपर्छ। जापानमा कार्यालय देखि बजार र घरमा समेत जापानीज भाषा मात्रै प्रयोग हुने भएकाले पनि अंग्रेजी भाषाको ज्ञान भएपनि ब्यवहारिक रुपमा त्यति प्रयोग हुँदैन।
जापानीज भाषा नसिक्दा काम पाउन र काम गर्न पनि गाह्रो हुने भएकोले जापानीज भाषाको ज्ञान अनिवार्य छ। विद्यार्थीले जापानीज भाषाको छोटो अनुच्छेदहरू पढ्नु पर्छ जसको लागि जापानीज भाषाको राम्रो ज्ञान हुनु जरुरी छ। जापान जाँदा हिरागाना, खान्जी मिस्रित वाक्यहरूलाई विद्यार्थीले पढ्न सक्ने हुनुपर्छ।
नेपाली विद्यार्थीले जापानमा आइटी, एकाउन्टिङ, कम्प्युटर इन्जिनियरिङ, फेसन डिजाइनिङ, होटलम्यानेजमेन्ट जस्ता विषय अंग्रेजी भाषामा पनि पढ्न पाउँछन्।
अध्ययनसँगै चुनौती
जापान जापानीज भाषा बोलिने मुलक भएकाले पनि अन्य देशबाट जाने विद्यार्थीका लागि त्यति सहज हुँदैन। जापानमा अध्ययन गर्न गएका विद्यार्थीले पढ्दै कमाउँदै गर्नु नै आफैमा चुनौतीपूर्ण छ।
नेपालमा काम नै नगरेका युवा विद्यार्थी जापानमा अध्ययनसँगै काम र पैसा दुवैको पछि लाग्नु आफैमा सजिलो छैन। विद्यार्थीले पहिलो प्राथमिकता अध्ययनलाई नै दिनुपर्छ। त्यसका लागि पूर्व तयारी गर्नुपर्ने हुन्छ। त्यो भनेकोे त्यहाँ गएर पढ्नका लागि चाहिने शुरुवाति खर्चको व्यवस्था यहाँबाट जाँदा नै गर्नुपर्छ।
जापान जाने विद्यार्थीहरूको ध्यान कामतिर केन्द्रित भएको देखिन्छ। पढाइ छोडेर काममा लाग्ने विद्यार्थीको भविष्य राम्रो हुँदैन। अभिभावकले पनि आफ्ना छोराछोरी जापान पठाएपछि तत्काल पैसा पठाउँछ भन्ने सोच राख्नुहुँदैन।
यहाँ विदेश जानासाथै कमाइ हुन्छ भन्ने मान्यता छ। यस्तो सोचाइ राख्ने हो भने विद्यार्थीलाई अनावश्यक दबाब महसुस हुन्छ। विद्यार्थीले आफ्नो उज्जवल भविष्यको लागि ३ देखि ५ वर्ष निरन्तर पढाइ पुरा गरी राम्रो रोजगारको अवसर सृजना गर्न सक्छ।
अध्ययन पश्चात रोजगारीको अवसर
विद्यार्थीले जापानमा अध्ययन गर्दैगर्दा हप्ताको २८ घण्टा काम गर्न पाउँछन्। त्यहाँ रोजगारीका लागि विभिन्न कम्पनिहरू पनि खुलेका छन्। ती कम्पनिमा गएर विद्यार्थीले आफ्नो बायोडाटा दिएर सिप र योग्यता अनुसार काम खोज्न सक्छन्। विद्यार्थीले अध्ययन गर्दै गर्दा डिपार्टमेन्ट स्टोर, सुपरमार्केट, फास्टफुड क्याफे, ग्रोसरीसप, क्लिनिङ आदिमा पार्टटाइम काम गर्ने अवसर पाउछन्।
यसका साथै उच्च शिक्षा अध्ययन गरिसकेपछि विद्यार्थीले आइटी, सफ्टवेयर कम्पनी, मल्टिनेसनल कम्पनिमा रोजगारीको अवसर पाउने संभावना रहन्छ। जापानमा भू–गर्भशास्त्र (जियो–साइन्स), इन्फरमेसन टेक्नोलोजी, कम्प्युटर इन्जिनियरिङ, होटल म्यानेजमेन्ट, अटो मोबाइल्स, इलेक्ट्रोनिक्स लगायतका विषयमा अध्ययन गरेका विद्यार्थीले सहज रुपमा रोजगारीको अवसर प्राप्त गर्छन्।
लेखक श्रेष्ठ हार्डफोर्ड एजुकेसन प्रा.लीका प्रवन्ध निर्देशक हुन्।