काठमाडाैँ- जापान नेपाली विद्यार्थीको रोजाइको शैक्षिक गन्तव्य हो। प्रत्येक वर्ष अध्ययनसँगै अवसरको खोजीमा हजारौँको संख्यामा विद्यार्थी जापान जाने गरेका छन्। जापान अध्ययन गर्न जान चाहने विद्यार्थीले विभिन्न समस्याको सामना गर्नुपरेको अवस्था छ। यसै सन्दर्भमा जापानको शैक्षिक अवस्था, विद्यार्थी र अभिभावकले ध्यान दिनुपर्ने विषय, शैक्षिक परामर्श व्यवसायीको भूमिका र उच्च शिक्षा विधेयकमा सुझाब लगायतका विषयमा सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एइक्यान)का अध्यक्ष किशोर तिवारीसँग गरिएको कुराकानीको मुख्य अंश।
एइक्यानले विद्यार्थी र अभिभावकलाई लक्षित गरेर के – कस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ?
एइक्यानले विद्यार्थीको भाषागत दक्षता वृद्धि गर्न भर्खरै मात्र ‘खान्जी क्विज कम्पिटिसन’ आयोजना गरेको थियो। एइक्यानमा आवद्ध भएका संस्थालाई जापान अध्ययनबारे पछिल्ला गतिविधि र इमिग्रेसनका अपडेटका विषयमा जानकारी दिने, काउन्सिलमा आएका नीतिगत परिवर्तनका विषयमा आफ्ना सदस्यलाई शुसुचित गर्ने जस्ता गतिविधि गर्दै आएका छौँ। आफना सदस्यहरूलाई परामर्श एंव नेतृत्व विकासको तालिम प्रदान गर्ने काम गरेका छौँ। विद्यार्थीलाई काउन्सिलिङ गर्ने विषयमा पनि परामर्श व्यवसायीले के-के कुरामा ध्यान दिने भन्ने विषयमा संघले आफ्ना सदस्यालाई तालिम दिने प्रक्रिया सुरु गरेको छ।
जापान नेपाली विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो?
जापान अध्ययनसँगै अवसरका हिसाबले नेपाली विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो। भाषागत तयारी गरेर जापान अध्ययनको बारेमा सम्पूर्ण जानकारी लिएर जानु उपयुक्त हुन्छ। यसो भन्दैमा सबैखाले विद्यार्थीलाई जापान उपयुक्त नहुन पनि सक्छ।
परामर्श व्यवसायीले विद्यार्थीलाई जापानको सम्भावनाको विषयमा जानकारी दिएपछि जापान उपयुक्त लाग्ने विद्यार्थीले मात्र यसलाई शैक्षिक गन्तव्य बनाउनु पर्छ।जापानमा विशेष गरेर भाषा अध्ययन गर्न विद्यार्थी भाषा स्कुलमा जाने गरेका छन्। जापानमा विद्यार्थी एकेडेमिक लाइनमा नभइ व्यवसायीक सिपमुलक तालिम लिन पनि जान सक्छन्।
जापान अध्ययनका विषयमा विद्यार्थी, अभिभावक र परामर्श व्यवसायीले ध्यान दिनुपर्ने विषयहरू के-के छन् ?
जापान अध्ययनका लागि जानुपूर्व विद्यार्थी र अभिभावकले जापान पठाउन योग्य, अनुभवि र दक्ष परामर्श व्यवसायीकोमा गएर परामर्श लिन जरुरी छ। परामर्श व्यवसायीले पनि विद्यार्थीको इच्छा चाहनलाई वुझेर सोही अनुसार परामर्श प्रदान गर्नुपर्छ। विद्यार्थीले भाषा तयारी कक्षाको विषयमा बुझेर अध्ययन पश्चातका अवसर र चुनौतिका बारेमा परामर्श लिन आवश्यक छ। १८ देखि २५ वर्ष उमेर समुहका विद्यार्थीलाई जापानको एजुकेशन सिस्टमको बारेमा बझुाएर मात्र पठाउनु पर्छ।
गतल परामर्श व्यवसायीकोमा पुगेर पनि कतिपय विद्यार्थीहरूले दुःख पाउनुपरेको अवस्था छ। परामर्श व्यवसायी छनोट गर्दा ध्यान दिनुपर्छ। आफू जापानको कुन स्कुल, कुन विश्वविद्यालयमा कति समय पढ्न जान लागेको हो ध्यान दिनुपर्छ। आफू जादैँ गरेको विद्यालय र विश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, उक्त संस्थाको पृष्ठभूमिका विषयमा बुझ्न जरुरी छ। विद्यार्थीले पाएको सुविधा र भोग्नुपरेका समस्याकाबारेमा यस अघि जापानमा पढ्न गएकाहरूसँग बुझ्न सकिन्छ।
अभिभावकले पनि अध्ययन अवधिसम्म आफ्ना सन्तानसँग आर्थिक सहयोगको अपेक्षा गर्नु हुँदैन। उसले अध्ययनसँगै सिप सिकेर दक्षता हासिल गरेमा मात्र आफ्नो भविष्य बनाउन सक्छ भन्ने सम्झिनुपर्छ। जापानमा गएका विद्यार्थीलाई जाने वित्तिकै पैसा पठाउनुपर्छ भनेर दबाब दिनुहुँदैन।
शैक्षिक परामर्श व्यवसायीले भ्रामक विज्ञापन गर्ने गरेका छन् नि? संघको तर्फबाट के भन्नुहुन्छ?
संघको तर्फबाट आफ्ना सदस्यलाई भ्रामक विज्ञापन नगर्न शुसुचित गर्ने काम गरेका छौँ। कुनै सदस्यले संघले बारम्बार ताकेता गर्दा पनि त्यस्ता गतिवधि गर्न छोड्नुभएन भने हामीले संघको सदस्यता नै खारेज गर्छौ। यसका साथै राज्यको सम्बन्धित निकायमा पनि यस विषयमा जानकारी गराउँछौँ।
सबैभन्दा पहिले त परामर्श व्यवसायीले के-कस्ता गतिविधि गर्नु हुँदैन भनेर जानकारी दिन्छौँ। नियम कानुनको पालना गराउने दायित्व राज्यको हो। राज्यले अहिले परामर्श व्यवसायीलाई अनुगमन र नियमन गरेको छैन। जसले गर्दा अराजकता पनि बढेको छ। त्यसैले कानुन विपरित काम गर्ने उपर अनुगमन गरेर कारवाही गर्नुपर्छ।
उच्च शिक्षा विधेयकमा एइक्यानको धारणा के छ?
शिक्षा मन्त्रालयले सार्वजनिक गरेको उच्च शिक्षा विधेयकको प्रारम्भिक मस्यौदामा जापानमा भाषा अध्ययन गर्न जानेलाई उच्च शिक्षाको मान्यता दिइएको छैन। उच्च शिक्षाको परिभाषामा नै स्नातक तह वा सो भन्दा माथिको तहलाई भनिएको छ। यस विधेयक पास भए सिपमुलक तालिम लिन जाने र भाषा शिक्षा लिएर अन्य व्यवसायिक, प्राविधिक शिक्षा आर्जन गर्न चाहने विद्यार्थीका लागि ढोका बन्द हुन्छ।
जापानीज भाषा अध्ययन भनेको जापानमा विश्वविद्यालय प्रवेश गर्ने व्रिजकोर्स जस्तै हो। त्यसैले भाषा अध्ययन गर्न जाने विद्यार्थीलाई रोक्नु हुँदैन। जापानमा हामीले पठाएका विद्यार्थीले जापानका विभिन्न उच्च तह र राज्यका निकायमा पनि काम पाएको अवस्था छ।
जपानका विश्वविद्यालयमा नेपाली प्रोफेसरहरू, उद्योग व्यवसाय सञ्चालन गर्न सफल व्यवसायीहरू छन्। जापान गएका कतिपय नेपाल फर्किएर ट्राभल एण्ड टुरिजम व्यवसायमा लागेका छन्। कक्षा १२ अध्ययन गरेपछि लिइने भाषा शिक्षा, व्यवसायीक र प्राविधिक शिक्षालाई पनि राज्यले उच्च शिक्षाकै रुपमा मान्यता दिनुपर्छ।
जापानमा अध्ययन गरेका दक्ष जनशक्तीलाई नेपाल फर्काउन राज्यले कस्तो नीति अवलम्बन गर्नुपर्छ?
विदेशबाट आफ्ना नागरिकलाई नेपाल फर्काउने नीति नै स्पष्ट छैन। सरकारको नीति लगानीमैत्री पनि छैन। कुनै पनि व्यक्तीले व्यवसाय गर्न चाहेमा राज्यले सहयोग गर्दैन। त्यसमा पनि कानुनी जटिलताहरू थप हुन्छन्। जापान अध्ययनमा गएका विद्यार्थी नेपाल फर्किएर व्यवसाय गर्न खोज्दा राज्यको तर्फबाटै विभिन्न उल्लझनहरू छन्।
कानुनी अड्चनका कारण व्यवसाय सुरु गरेका व्यक्तीले पनि बन्द गरेर फेरी विदेश फर्केका पनि छन्। व्यवसाय गर्न अनुमति लिने प्रक्रियालाई सहज बनाउनु पर्छ। कृषि उत्पादनलाई बजारीकरणको अभाव छ। भारतिय मार्केटको दबदबा छ। राज्यले व्यवसायीमैत्री वातावरण बनाएर लगानीको सुरक्षा गर्नेगरी कानुन निर्माण गरेमा मात्र व्यवसाय गर्ने उद्देश्यले विदेशिएका नेपाली पनि फर्किन सक्छन्।
जापानमा अध्ययनको नाममा ठूलो धनराषी विदेशीयो भन्ने सुनिन्छ नि?
जापानमा अध्ययनको नाममा रकम विदेशिएको मात्र छैन गएका विद्यार्थीले नेपालमा रेमिट्यान्सको रुपमा ठूलो धनराषी पठाएका पनि छन्। राज्यले विद्यार्थीले पढ्न जाँदा पैसा लगेको देखेको छ तर त्यसपछि उसले सिक्ने सिप र दक्षतालाई पनि नेपालमा प्रयोग गर्न सकिने वातावरण बनाउने विषयमा सोचेको छैन।
विद्यार्थी विदेशमा पढ्न जानु भनेको लगानी हो। अभिभावकले किन लगानी गरेका छन् भन्ने बुझ्नुपर्छ। राज्यले नै अध्ययनका लागि विदेश जानै नपर्ने अवस्था बनाउनुपर्छ। विद्यार्थीले आफ्नो भविष्य नेपालमै देखे भने उनीहरू विदेश जान आफै निरुत्साहित हुन्छन्। परामर्श व्यवसायीले विद्यार्थी विदेशमात्र पठाउँदैनन् नेपालमा पनि ल्याउन सक्छन् भन्ने सोच्नुपर्छ। नेपाललाई एजुकेशन हबको रुपमा विकास गर्न राज्यले नीति बनाउनुपर्छ। जसले गर्दा विद्यार्थी विदेश जाने क्रम आफै घट्छ।
विद्यार्थीले विदेशमा मानसिक तनाव भोग्नुको कारण के देख्नुहुन्छ?
विद्यार्थीले आफू अध्ययन गर्न जाने स्कुल र जान सहजिकरण गर्ने परामर्श व्यवसायी कस्तो छ भन्ने बुझेर मात्र जानुपर्छ। विद्यार्थीले विदेश जादाँ ठूलो अपेक्षा राख्नुहुँदैन। विद्यार्थीले पार्ट टाइम जब पाउन पनि भाषागत रुपमा दक्ष हुनुपर्छ। लहलहैमा जापान जाने विद्यार्थीले दुःख पाउछन्।
विद्यार्थी जापान गएपछि त्यहाँको वातावरण र खानपान फरक हुँदा सुताइ र खानपिन पनि विग्रिन्छ। विद्यार्थीले कम सुत्ने, फ्याटी फुड खाने र मदिरा सेवन गर्ने गर्दा मानसिक रुपमा अस्वस्थ हुन्छन्। उनीहरूको अपेक्षा ठूलो हुँदा डिप्रेसनमा जाने पनि हुन सक्छ।
अन्त्यमा, जापान अध्ययनमा जान चाहने विद्यार्थी र अभिभावकलाई के भन्नुहुन्छ?
जापान अध्ययनमा जादाँ त्यहाँको बारेमा सम्पूर्ण कुरा वुझेर मात्र जान सल्लाह दिन्छु। यसका लागि अनुमवि र दक्ष परामर्शदातृ संस्थाको गएर आवश्यक परामर्श लिन आवश्यक छ। अभिभावक पनि विद्यार्थीले सबै कुरा गर्न सक्छ भनेर जिम्मेवारीबाट पन्छिनु हुँदैन।
गुणस्तरीय सेवा दिने परामर्शदातृ संस्थाबाट जादाँ उनीहरूले दुःख पाउँदैनन्। जापानमा भाषा अध्ययन गर्न जाने भएकाले जुनसुकै तह अध्ययन गरेका विद्यार्थी पनि जान सक्छन्। विद्यार्थीले आफ्नो रुचि अनुसारको विषय छनोट गर्नुपर्छ। विद्यार्थी विदेश अध्ययनमा जानुको उद्देश्य स्पष्ट हुनुपर्छ।