काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन्।
प्रधानमन्त्री भएको १४ महिना १९ दिनमै उनले तेस्रोपटक विश्वासको मत पाएका हुन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्थ्यो । तर प्रधानमन्त्री प्रचण्डलाई संसद्मा तत्काल कुल उपस्थित सङ्ख्यामध्ये १५७ जनाले मत दिए । तत्काल उपस्थित सङ्ख्या २६८ मध्ये उनले ५८.५८ प्रतिशत मत पाएका हुन् ।
प्रचण्डले पहिलोपटकको तुलनामा ४०।६७ प्रतिशत मत घटाएका छन् । दोस्रो पटकको तुलनामा ५.६ प्रतिशत कम मत पाए । उनलाई माओवादीसहित एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीका साथै स्वतन्त्र दुई सांसदले समेत मत दिएका थिए ।
प्रमुख विपक्षी दल कांग्रेस, लोसपा, जपा, नेमकिपाले विपक्षमा मतदान गरेका थिए भने राष्ट्रिय जनमोर्चाले मत प्रक्रियामा भाग लिएनन् । यसअघि प्रचण्डलाई साथ दिएका नाउपाबाहेक लोसपा, राजमो, जपाले यो पटक साथ दिएनन् ।
प्रधानमन्त्री प्रचण्डले सुविधाजनक विश्वासको मत पाए पनि यसअघिको तुलनामा निरन्तर मतसंख्या घटाउँदै गएका छन् ।