काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हडताल गर्ने काम बन्द गर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन्। बुधबार नेपाल प्राध्यापक संघका पदाधिकारीसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले ससाना कुरालाई लिएर विश्वविद्यालयमा हड्ताल गर्नु गलत हुने बताएका हुन्।
‘लोकतान्त्रिक मर्यादा अनुरूप माग प्रस्तुत गर्न पाइन्छ तर लामो समयसम्म पढाइ अवरूद्ध हुने गरी विश्वविद्यालयमा गरिएको हडताल रोक्नुपर्यो। प्राध्यापक संघले होमवर्क गरी समस्या बुझेर समाधानको निकास निकाल्ने गरी पहल गर्नुहोस्।’
उनले सबै विश्वविद्यालयका सेवा आयोगहरू एकै प्रकृतिको भएकाले एकरूपता कायम गरिने बताए। प्राध्यापकका सेवा सुविधा सम्बन्धमा सबै राष्ट्रसेवकलाई एउटै मापदण्ड बनाएर अघि बढ्ने योजनामा रहेको मन्त्री पौडेलको भनाइ छ।
विश्वविद्यालयहरु समस्या परेमात्र मन्त्रालयमा आउने गरेको भन्दै उनले नियमन संयन्त्र र स्वायत्तको स्पष्ट खाका तयार गर्नुपर्ने बताए। ‘विश्वविद्यालयहरूले समस्या परेको बेला मन्त्रालयमा आउने तर अरू जिम्मेवारी, अनुशासन र नियमन सुधारका अवस्थामा स्वायत्त भएको भन्ने गरिएको छ। नियमन संयन्त्र र स्वायत्तताको स्पष्ट खाका तयार गर्नुपर्ने भएको छ,’ उनले भने। त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयको रुपमा विकास गर्ने तयारी रहेको उनले जानकारी दिए।
‘राष्ट्रिय प्रकृतिका विश्वविद्यालयहरू विषयगत विशिष्टिकरणका आधारमा केन्द्रिय विश्वविद्यालयको मातहतमा रहनेगरी तयारी गरेका छौं,’ मन्त्री पौडेलले भने, ‘उच्च शिक्षालाई नियमन गर्ने गरी ऐनमाथि छलफल भइरहेको छ।’
छलफलमा नेपाल प्राध्यापक संघको तर्फबाट बुद्धबहादुर थापाले प्राध्यापकहरूको मर्यादाक्रम २०७४ सालको मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएर राजपत्रमा निस्किसकेकाले कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गरेका छन्।
प्राध्यापकहरुको तलबमान सार्कस्तरीय बनाउने, त्रिवि र नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूको निवृत्तिभरण उपलब्ध गराउने, स्वास्थ्य सुविधा, शिक्षक अस्पताल जस्तै प्राध्यापक र विश्वविद्यालयका शिक्षक कर्मचारीहरूलाई समेत निजामति अस्पताल भन्दा बेग्लै किसिमको स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्नेलगायतका माग राखेका थिए।
लामो समयदेखि आंशिक प्राध्यापक तथा विभिन्न विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्दै आइरहेका छन्।