काठमाडौँ- राष्ट्रियसभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।
मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा निर्वाचन भएको थियो।
नेपाली कांग्रेसका उम्मेदवार रहेका सांसद युवराज शर्मालाई पराजित गर्दै माओवादीका सांसद दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन्। निर्वाचित भएपछि उनलाई सांसदहरूले खादा लगाएर बधाई दिएका थिए।
दाहाललाई राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत परेको छ भने विपक्षमा १७ मत परेको छ।
मंगलबार राष्ट्रियसभा बैठकमा ५६ जना सांसद उपस्थित थिए।
दाहाललाई माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाको समर्थन थियो।
कांग्रेसका शर्मालाई लोसपाले पनि साथ दिएको थियो। यसअघि शर्मालाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो।
उक्त प्रस्तावको पक्षमा १७ मत र विपक्षमा ३९ मत आएको थियो।
को हुन् राष्ट्रियसभा अध्यक्षमा निर्वाचित नारायणप्रसाद दाहाल ?
भरतपुर महानगरपालिकाको भिमसेन नगरका दाहालले यसअघि २०७३ सालमा दोस्रोपटक प्रचण्ड प्रधानमन्त्री हुँदा उनको प्रशासनिक सल्लाहकारका रूपमा काम गरेका थिए।
उनी २०६३ सालको अन्तरिम व्यवस्थापिका संसदमा नै सदस्य भएका थिए भने २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन चितवन-३ बाट निर्वाचित भएका थिए।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी पराजित भए।उनी २०५७ सालदेखि माओवादी पार्टीमा केन्द्रीय सदस्य छन्।
राजनीतिक गतिविधिमा २०३६ सालयता पूर्णकालीन कार्यकर्ताका रूपमा उनले काम गरेको संसद् सचिवालयमा उनले बुझाएको विवरणमा उल्लेख छ।
त्यसको झण्डै एक दशकअघि अनेरास्वियूको सदस्य भएको उक्त विवरणमा उल्लेख छ।
उनले सङ्घीय संसदको लेखा समितिमा चार वर्ष काम गरेका छन्।
नाताले उनी प्रचण्डका काकाका छोरा हुन्। तर संसदको विवरणमा २०३५ सालयता उनी पार्टी सदस्य भएको उल्लेख छ।
सोमवार उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग बोल्ने क्रममा उनले अन्तरिम व्यवस्थापिका संसदमा सदस्य भए देखि नै 'पार्टीको कुनै पनि जिम्मेवारी लिनुपर्दा' आफूलाई त्यस्तो आरोप लाग्नेगरेको बताए।
उनले भने, “यो बेला यदि दाजुभाइको हिसाबकिताबले हुन्न भन्यो भने म युद्धमा हिँड्दा दाइ हिडिँरहेकोले हिँड्नु पर्दैन भनेर कसैले भनेन।”
राष्ट्रियसभामा चाहिँ उनी मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने मनोनयन अन्तर्गत नियुक्त भएका हुन्।