काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको पदभार ग्रहण गरेकी छन्।
सत्ता समिकरण परिवर्तन भएसँगै सत्ता गठबन्धनका दलहरु बीच बुधबार शिक्षा मन्त्रालय रास्वपालाई दिने सहमति भएसँगै श्रेष्ठलाई शिक्षा मन्त्री बनाउने रास्वपाले निर्णय गरेको हो।
गत निर्वाचनबाट उदाएको रास्वपाकी उनी समानुपातिक तर्फकी सांसद हुन्। उनी प्रतिनिधि सभा अन्तरगतको शिक्षा समितिको सदस्य छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको आदिवासी जनजाति कोटाबाट समानुपातिक सांसद बनेकी सुमना श्रेष्ठले शिक्षा मन्त्रालयको जिम्मेवारी पाएकी हुन्। काठमाडौँ महानगरपालिका वडा नम्बर २६ याकुपामा २०४१ साल असोज १५ गते जन्मिएकी उनले पोल्याण्डका नागरिक पावल लुकास स्काविन्स्कीसँग बिहे गरेकी छिन् ।
श्रेष्ठले व्यवस्थापनमा स्नातकोत्तर सम्मको अध्ययन, अमेरिकाको ब्रायन मावर कलेज र ह्याभरफोर्ड कलेजबाट अर्थशास्त्र र गणितमा स्नातक, एमआईटी स्लोन स्कूल अफ म्यानेजमेण्टबाट बिजनेस एडमिनिष्ट्रेशनमा स्नातकोत्तर सम्मको अध्ययन गरेकी छिन्। उनीसँग झन्डै १ वर्ष हाराहारीको राजनीतिक अनुभव रहेको छ।
भूकम्पपछि नेपालमा विश्व खाद्य कार्यक्रमसँग बोस्टन कन्सल्टिङ ग्रुपले उनलाई नेपाल पठाएको थियो । भूकम्पपछि प्रवासी नेपालीहरूमार्फत प्राप्त भएको सहायता सामग्री सङ्कलन र वितरणमा संयोजन गरेकी थिइन् । काष्ठमण्डप पुनः निर्माणसम्बन्धी उपसमितिमा समेत बसेर उनले काम गरेकी थिइन् भने रानीपोखरी बचाउ अभियानमा सक्रिय रहेकी थिइन् ।
कोरोना महामारीका बेला समेत नेपाली नागरिकलाई कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न अमेरिकी सरकारलाई त्यहाँको सिनेटमार्फत अनुरोध गरेकी थिइन् ।
उनी एक सफल उद्यमी पनि हुन् । उनले कारपुल काठमाडौँ (Carpool Kathmandu) र मेडिकेसन फर नेपाल (Medication For Nepal) लगायतका परियोजनाको सुरुवात गरेकी थिइन् । नाकाबन्दीका कारण देखा परेको इन्धनको समस्यामा नागरिकलाई थोरै भए पनि राहत दिने गरी कारपुल नेपाल सुरु गरिएको थियो । महाभूकम्प पछिको अवस्थामा औषधिजन्य आवश्यकतालाई पूर्ति गर्ने उद्देश्यले मेडिकेसन फर नेपाल सुरु गरिएको थियो ।
गणितमा पनि स्थानविज्ञान (टोपोलोजी) र ज्यामितिमा उनको विशेषज्ञता छ । उनले व्यवस्थापन परामर्श दाताका रूपमा काम गरिसकेकी छिन् । उनले कोसी कोल्याबोरेटिभ (Kosi Collaborative), नोवाला बायोटेक (Novala BioTech) बटुका क्रिमरी (आइसक्रिम पार्लर) लगायतका उद्यम स्थापना गरेकी छिन् ।
उनले राजनीतिमा आफ्नो पाइला चालिरहँदा तीन वटा प्राथमिकता राखेकी छन् । पहिलो रोजगारीको सिर्जना गर्ने (विशेषतः प्रविधिको क्षेत्रमा), दोस्रो नेपालको विकासको मुद्दामा प्रवासी नेपालीहरुलाई संलग्न गराउने र तेस्रो राजनीतिज्ञहरूको राजनीतिक उत्तराधिकारीको योजना सञ्चालन गर्ने हो ।