काठमाडाैँ- काठमाडाैँ महानगरका मेयर बालेन्द्र शाहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यअनुरुप थालिएको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमबाट नविनतम सिर्जना उत्पादन हुन थालेकाे बताएका छन्।
शनिबार समाजिक सञ्जाल मार्फत अन्तरक्रियात्मक तथा व्यवहारिक शिक्षण सिकाइ र सामाजिक संवादबाट सामुदायिक विद्यालय स्तरमा नविनतम सिर्जना उत्पन्न हुन थालेकाे मेयर साहले बताएका हुन्।
काठमाडाैँ महानगर वडा नं. ५ को टंगाल माध्यमिक विद्यालयको कक्षा ७ र ८ मा अध्ययरत विद्यार्थीहरूले ‘बुक फ्रि फ्राइडे’ लाई उपयाेग गर्दै रिमोटबाट सञ्चालन हुने सामान ओसार्ने हवाइ जहाज, एअर एम्बुलेन्स, हाइड्रो (जल विद्युत) प्रणाली, क्युव स्याटलाइट, स्मार्ट ब्रिजजस्ता विज्ञान र प्रविधिमा आधारित मोडल तयार पारेका हुन्।
सामाजिक क्षेत्रका क्रियाकलापहरूमा परम्परागत भेषभुषाका नमूना बनाउने, नेवार समुदायमा प्रसादका रुपमा ग्रहण गरिने समय बजी (माछा, अण्डा, बारा, राग, छोइला, छुस्यामुस्या, भुटी) बनाउने काम गरेका हुन्। व्यवहारिक सिपका क्षेत्रमा हाउस वायरिङ्ग गर्ने, खाना बनाउने (पाक शिक्षा) लगायतका सिप सिकेर विद्यालयमा प्रदर्शन गर्न थालेका छन्।
विद्यालयहरुमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरू ‘बाबा’ र ‘स्टिम’ क्लवसहित विभिन्न सिप विकासका विधामा उपसमूहमा आवद्ध भएर शिक्षा आर्जन गरिरहेका छन्। पठन संस्कार, व्यक्तित्व विकास, योग, संगीत, नृत्य, नाट्य जस्ता विधामा प्रशिक्षित भइरहेका छन्। कागजमा कोरिने चित्रका रेखा र रंङसँग प्रकृति, वातावरण र मानव जीवनको सम्बन्ध व्याख्या गर्न सकिने मेयर बालेन साहले जानकारी दिएका हुन्।
मेयर साहले भने, 'गत वर्षबाट थालिएको कार्यक्रममा विद्यार्थीहरूको रुचि देखिएपछि चालु शैक्षिक सत्रमा निरन्तरता दिँदै लगानी बढाएका छौँ। कार्यक्रम हरेक शुक्रबार सञ्चालन भइरहेका छन्। कार्यक्रमको प्रभावकारिताका लागि शिक्षण पद्धति सिर्जनशील, व्यवहारिक, प्रयोगात्मक र वास्तविक बनाउन शिक्षक शिक्षण तालिम प्रदान गर्न थालेका छौँ। शिक्षकको ज्ञान विद्यार्थीमा सजिलै हस्तान्तरण गर्ने विधि र विद्यार्थीहरुले सिकेको ज्ञान तथा सिपलाई व्यवहारमा प्रयोग गर्दै दिगो स्मरण तथा उपयोगमा ल्याउने कुरा हाम्रा कार्यक्रमका मूल्याङ्कन सूचक हुन्।'
उनले महानगरले रुपान्तरण गर्न चाहेको कुरा विद्यालय प्रशासन, शिक्षक र अभिभावकले बुझ्न सक्नेगरी रुपान्तरणका लागि गरिएको महसुस, नतिजा (विश्व बजारमा आवश्यक जनशक्तिमा हुनु पर्ने सिप र योग्यता) मा परिणत गर्न सकियोस् भनेर प्रयाेग गरिएकाे बताए।
महानगरपालिकाले विद्यार्थीहरुको व्यवहारिक, सामाजिक र आचरणयुक्त सिप, प्रविधिमैत्री र नवप्रवर्तनमा आधारित शिक्षा नीति लिएको उनले जानकारी दिए। यसबाट सामुदायिक विद्यालयमा अध्ययन गर्ने हरेक विद्यार्थीमा विद्यालय उमेरभित्रै आफूभित्र भएको क्षमता र भविष्यको बाटो पहिचान गर्न सहयाेग पुग्ने उनकाे विश्वास छ।
उनले शिक्षण सिकाइमा मात्र होइन, विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने, प्रयोगशाला (कम्प्युटर, विज्ञान) लाई विद्यार्थीहरुको स्वध्ययन स्थल बनाउने, पुस्तकालय (भौतिक र इन्टरनेटमा आधारित) लाई ज्ञान विज्ञानसँग जोडने काम गरिरहेका बताए। यसले विद्यार्थीहरुको बुझाइ क्षमता र बौद्धिक स्तरमा वृद्धि गराउने र उनीहरुको विकास, पेसा र जीवन निर्वाहको बाटो खुल्ने उनकाे बुझाइ छ।