काठमाडौं- त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजंग बरालले पदभार ग्रहण गरेका छन्। कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले शुक्रबार पदभार ग्रहण गरेका हुन्।
निमित्त उपकुलपति शिवलाल भुसालले उनलाई पदभार ग्रहण गराएका हुन् । नवनियुक्त उपकुलपतिको पदभार कार्यक्रममा रेक्टर, रजिस्ट्रार डिनहरु लगायत पदाधिकारी र प्राध्यापक, कर्मचारी सहभागी थिए।
बराललाई बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहालले नियुक्त गरेका थिए । शुक्रबार बिहान नियुक्तिपत्र बुझेर दिउँसो पदभार गरेका छन् ।
उपकुलपति प्राडाबरालले त्रिविका शैक्षिक कार्यक्रमहरूलाई उत्पादन र बजारसँग जोड्न आफू लागिपर्ने बताए।
देशको मौलिक र रैथाने ज्ञानलाई विश्वविद्यालयको प्राज्ञिक अध्ययन–अनुसन्धानसँग जोड्नका लागि दीर्घकालीन योजना बनाइने जानकारी पनि उनले दिए।
‘तराईका राजवंशी र पहाडका मगरले उत्पादन गर्ने कासवा होस् वा चिउरीका उत्पादनको विकास, विश्वविद्यालयले त्यसतर्फको अध्ययन–अनुसन्धानमा जोड दिनेछ’, उनले भने। साथै हिमाली उपचार पद्धति आम्ची र आयुर्वेदिक अध्ययन–अनुसन्धानका कार्यक्रममा पनि विशेष जोड दिएर उठाइने उनले बताए।
यसैगरी, देशको विशिष्टताअनुरूप पर्वतारोहणको उच्चशिक्षाका लागि विशेष योजना ल्याइने र विदेशी विश्वविद्यालयसँग ज्ञान आदानप्रदानका कार्यक्रममार्फत अघि बढाइने पनि उपकुलपति प्राडा बरालले बताए।
होटल व्यवस्थापनमा अध्ययनसँगै कमाईको अवधारणालाई त्रिवि कार्यक्रमभित्रै समेटेर अघि बढाइने पनि उनले बताए।
प्राडा बराललाई निवर्तमान कार्यवाहक उपकुलपति शिवलाल भुसाललगायत त्रिविका वरिष्ठ कर्मचारी तथा प्राध्यापकहरूले स्वागत गरेका थिए।