काठमाडौं- ३६ करोड रुपैयाँको लागतमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले नयाँ भवन निर्माण गर्ने भएको छ। भारत सरकारको आर्थिक सहयोगमा पुस्तकालयको नयाँ भवन निर्माण हुने भएको हो।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा पुस्तकालयको नयाँ भवनको शिलान्यास गरेका छन्।
भवनमा पाठक तथा अनुसन्धानकर्ताका लागि चौबिसै घण्टा बसेर अध्ययन गर्न सक्ने व्यवस्थाका साथै ई-लाइब्रेरी सुविधाका लागि छुट्टै कम्प्युटर ल्याब, सेमिनार वर्कसप हल, प्रर्दशनी कक्षलगायतका सुविधा हुने पुस्तकालयले जानकारी दिएको छ। नयाँ भवन ७ हजार ८ सय ७५ स्क्वायर मिटर क्षेत्रफलमा फैलने विपद् प्रतिरोधी ढाँचामा तीन तलाको लिफ्ट तथा वातानुकुलन सुविधासहितको भवन निर्माण हुन लागेको हो।
भवन निर्माणको जिम्मेवारी पाएको केसी हनुमान जेभी ललितपुरले पाएको छ। कम्पनीले २०७८ पुष ६ देखि काम सुरु गरिसकेको छ। कम्पनिले कार्य प्रारम्भ मितिले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ।
भवन निर्माणको औपचारिक शिलान्यास गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय शिक्षामा रुपान्तरतण गर्न आवश्यक भएकाले यसमा नवीनतम प्रयोग गर्दै लानुपर्ने र नयाँ अत्याधुनिक पुस्तकालय भवन निर्माणले यसमा सहयोग पुग्ने बताए।
‘विश्वविद्यालय शिक्षालाई गुणस्तरीय बनाउन संरचनामा पनि परिवर्तन गर्दै प्रविधीमैत्री बनाउदै लैजानुपर्छ। यसको निर्माण कार्यको थालनि भएको छ। समयमै निर्माण सम्पन्न गरेर विद्यार्थीलाई पढ्ने वातावरण बनाउनुपर्छ,’ मन्त्री पौडेलले भने।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सभ्यतादेखि रहेको मैत्रीपूर्ण सम्बन्ध थप विश्वसनीय र दिगो सहयोग पुग्ने बताए। ‘पुस्तकालय सामाजिक जीवनलाई व्यवस्थित गर्ने, विचार र दर्शन आदान प्रदान गर्ने, नवीनतम खोज र अनुसन्धान गर्ने महत्वपूर्ण स्थान हो। विश्वविद्यालय परिसरमा रहेको गान्धी भवन, जाकिर हुसेन उद्यान र त्रिवि केन्द्रीय पुस्तकालय निर्माणमा भारतले सहयोग गर्न पाएकोमा खुसी छौँ।’
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले नेपाल र भारतबीच प्राचीनकाल देखि नै आत्मीय सम्बन्ध रहँदै आइरहेको र त्रिभुवन विश्वविद्यालयको विकासका लागि भारत सरकारले लामो समयदेखि सहयोग उपलब्ध गराउँदै आइरहेकोमा धन्यवाद ज्ञापन गरे।
भारतको एक्जिम बैंकको सहयोगमा त्रिविका ३८ वटा आंगिक क्याम्पसहरुको भौतिक पूर्वाधारलाई थप व्यवस्थित र सृदृढ बनाउने तयारी भइरहेकोसमेत उनले जानकारी दिए।
त्रिवि केन्द्रिय पुस्तकालयका प्रमुख पूणर्लाल श्रेष्ठले पुस्तकालयलाई प्रविधीमैत्री र अत्याधुनिक बनाई घरमै बसेर विश्वविद्यालयमा उपलब्ध पुस्तक पढन सक्ने वातावरण बनाउने बताए। यस अवस्थामा भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा क्षेत्र परियोजनाहरूको भूकम्पपछि पुनर्निर्माण कार्यक्रम अन्तर्गत आधुनिक सुविधा सहितको नयाँ भवन कीर्तिपुर स्थित गान्धी भवनसँगै ७ हजार ८ सय ७५ स्क्वायर मिटर क्षेत्रफलमा विपद् प्रतिरोधि ढाँचामा तीन तलाको लिफ्ट तथा हिटिङ कुलिङ सुविधा सहितको भवन निर्माण हुन लागेको हो ।
२०१६ सालमा दुई वटा कोठाबाट सुरु भएको त्रिभुवन विश्वविद्यालय विस्तार हुँदै आएको छ। २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पुस्तकालयको भवनको केही भाग क्षतिग्रस्त भएको थियो।