काठमाडौं – २०७९ वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा सरकारले ४० दिनका लागि करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने भएको छ। अर्थ मन्त्रालयले म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिएसँगै गृह मन्त्रालयले म्यादी प्रहरी भर्ना छनोट निर्देशिका तयार गरेर विज्ञापन खुलाउने तयारी गरेको हो।
गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले निर्देशिकामा व्यवस्था भएअनुसार केही दिनभित्रै विज्ञापन गरिने बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचलाई लक्षित गरेर विज्ञापन खुलाउने अन्तिम तयारीमा जुटेका छौं। ४० दिनका लागि करिब एक लाख जनशक्ति भर्ना गर्ने विषयमा अर्थ मन्त्रालयले पनि सहमति दिइसकेको छ। केही दिनभित्रै विज्ञापन गर्छौं।’
चैत पहिलो साता दरखास्त आह्वान गर्ने तयारी भइरहेको सहसचिव पोखरेलले जानकारी दिए। म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरह तलब र रासनबापत थप ७ हजार रुपैयाँ पाउनेछन्। निर्वाचनमा खटिने म्यादी प्रहरीले ४० दिन काम गरेपछि ३० हजार २ सय ८० रुपैयाँ तलब पाउँछन्। त्यसमा थप ६ हजार बराबरको लत्ताकपडा र १ हजार गाडी भाडा पाउँछन्।
म्यादी प्रहरीलाई दुई जोर जुत्ता–मोजा, झुल र स्लिपिङ ब्यागसमेत उपलब्ध गराइने भएको छ। रासन र कपडासहित एकजना म्यादी प्रहरीका लागि ४४ हजार ४ सय ८० रुपैयाँ खर्च हुने रिपोर्ट अर्थ मन्त्रालयले गृहलाई पठाइसकेको छ।
प्रहरी प्रधान कार्यालयले १ लाख १९ हजार म्यादी प्रहरी भर्नाका लागि प्रस्ताव गरेको भए पनि अर्थ मन्त्रालयले ४० दिनका लागि करिब १ लाख जनाको लागि मात्र आवश्यक बजेट निकासा दिन सहमति जनाएको हो। म्यादी प्रहरी चुनाव सकिएको एक सातासम्म सेवामा रहनेछन्।
प्रहरी प्रधान कार्यालयले मापदण्ड निर्धारण गरेर गृह मन्त्रालयमा पठाइसकेको र यसअनुसार म्यादी प्रहरीमा पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने सहसचिव पोखरेलले बताए। यसअघि २०७४ सालको निर्वाचनमा ९९ हजार ९५५ जना म्यादी प्रहरी भर्ना गरिएको थियो।