काठमाडौँ- शिक्षामन्त्री अशोक राईलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बोलाएको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको बारे जानकारी दिनका लागि मन्त्रीलाई आह्वान गरेको हो।
शिक्षा समितिका सभापति भानुभक्त जोशीका अनुसार उपकुलपति छनोट समितिको संयोजक राईलाई त्रिविको उपकुलपतिका विषयमा स्पष्ट जानकारी दिन बोलाइएको हो। उनका अनुुसार आउँदो सोमबार बस्ने बैठकमा आह्वान गरिएको हो।
त्रिविको उपकुलपतिमा यसपटक सरकारले खुला प्रतिस्पर्धाबाट प्रतियोगिता गर्न सूचना जारी गरेको थियो। तर आवेदन गर्ने मध्ये १४ जनालाई छनोट समितिले सर्ट लिस्टमा राखेको थियो। सर्ट लिस्टमा रहेका कतिपय आवेदकहरू विवादास्पद रहेकाले समितिले स्पष्टीकरणका लागि मन्त्रीलाई बोलाएको हो।
उक्त सूचीमा पर्नेमा कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायण बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा छन्।