काठमाडौँ- जापानीज ल्याङ्ग्वेज स्कुल एशोसियसन अफ नेपाल (जाल्सान)ले नेपालमा जापानी भाषा, संस्कृति र शैक्षिक प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको ‘जापानी ल्याङ्ग्वेज स्पीच कन्टेस्ट’ (जापानी भाषा वक्तृत्वकला प्रतियोगिता) सम्पन्न गरेको छ।
जाल्सानले माघ २७ गते शनिबारका दिन राजधानीमा एक भव्य कार्यक्रमकाबीच नवौं जापानी ल्याङ्ग्वेज स्पीच कन्टेस्ट प्रतियोगिता सम्पन्न गरेको हो।
प्रतियोगितामा विभिन्न जापानीज भाषा तथा शैक्षिक परामर्श प्रदान गर्ने १२ वटा संस्थाहरुबाट १२ जना विद्यार्थीले भाग लिएका थिए। जसमा मिसाकी जापानीज एण्ड इन्टरनेशनल ल्याङ्ग्वेज एजुकेशन सेन्टरबाट भाग लिएकी रविना गोले प्रथम भएकी छन्। उनले प्रथम पुरस्कार ल्यापटप र शिल्ड प्राप्त गरिन्।
द्वितिय हुनेमा हाकुहो जापानीज ल्याङ्ग्वेज स्कुलबाट आयुष कंसाकार रहेका छन्। उनले ट्यावलइट र शिल्ड प्राप्त गरे। यस्तै सगरमाथा जापानीज ल्याङ्ग्वेज इन्ष्टिच्युटबाट पारसमणि दाहालले तृतीय स्थान हासिल गरिन्। उनले मोवाइल प्राप्त गरिन्। यसका साथै सहभागिहरुलाई सान्त्वना पुरस्कार र प्रमाणपत्रसमेत वितरण गरिएको थियो।
उच्च शिक्षाका लागि जापान जाने तयारीमा रहेका विद्यार्थीको वाक क्षमता अभिवृद्धि गर्न तथा जापानीज भाषा, कला संस्कृति, परम्परा र शैक्षिक प्रणालीबारे पूर्ण जानकारी हुन सकोस् भन्ने उदेश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको जाल्सानका अध्यक्ष रमेश देवकोटाले जानकारी दिए।
‘हामी यस जापानीज भाषा वक्तृत्वकाला प्रतियोगिताको नवौं श्रृंखलामा आइपुगेका छौं,’ उनले भने, ‘जाल्सानले विद्यार्थीहरुमा जापानको शैक्षिक प्रणाली, भाषा, संस्कृति र परम्पराबारे अधिक ज्ञान प्रदान गर्ने उदेश्यले प्रतियोगिता गर्दै आइरहेको छ।’ यस्ता प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने पनि देवकोटाले प्रतिवद्धता जनाए।
अध्यक्ष देवकोटाले जाल्सानले जापानीज भाषा वक्तृृत्व प्रतियोगिता मात्रै नभएर समय समयमा संस्थाका सदस्य व्यवसायीहरुलाई काउन्सिलर तालिम प्रदान गर्ने, शैक्षिक मेला आयोजना गर्ने, जापानीज फुड कल्चरलाई प्रोत्साहन गर्ने र नेपालमा जापानी संस्कृति ‘हानामी’ परम्पराको प्रवद्र्धनमा पनि सक्रिय रहँदै आएको बताए। उनका अनुसार जापानी भाषा र संस्कृतिमा रुचि राख्नेलाई ध्यानमा राखी वर्षैपिच्छे जापानीज फूल साकुरा रोप्न थालिएको छ भने जापान फाउन्डेसनको सहयोगमा जलसानको कार्यालयमा पुस्तकालयसमेत स्थापना गरिएको छ।
अध्यक्ष देवकोटाले जापानमा पढ्न जाने विद्यार्थीलाई शिक्षा मन्त्रालयबाट दिइने एनओसीमा समस्या भइरहेकाले यसको समाधानको लागि पहल गरिदिन कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि जापानी राजदूत किकुता युकुताको ध्यानाकर्षणसमेत गराए।
कार्यक्रमका प्रमुख अतिथि राजदूत युकुताले जाल्सानले जापानीज भाषा, संस्कृति र परम्पराको प्रवर्द्धनमा विगतदेखि सहयोग पुर्याउँदै आएको बताए। उनले भने,´विदेशी विद्यार्थीमा हाल जापानमा नेपाली तेस्रो नम्बरमा रहेका छन्। उनीहरू १ लाख ५६ हजारको हराहारीमा जापानमा बसोवास गरेका छन्। यसकारण पनि मलाई जापानको राजदुत हुन पाउदा खुसी लागेको छ।` उनले जापानीज शिक्षा हासिल गर्ने प्रक्रियामा भइरहेको केही कठीनाइहरुको पहिचान गरी समाधानको लागि पहल गर्ने पनि बताए।
राजदूत युकुताले जापानीज भाषा वक्तृत्वकला प्रतियोगितामा भाग लिने विद्यार्थीहरुको प्रशंसा गर्दै राम्रो प्रस्तुती रहेको बताए। जापानीज दूतावासको आफ्नै आधिकारीक फेसबुक पेजमा जापानको शिक्षा, भाषा, कलासंस्कृति र परम्पराबारे अधिक जानकारी समेटिएको बताउँदै उनले विद्यार्थीहरुलाई उक्त फेसबुक पेज हेर्न र अध्ययन गर्न पनि आग्रह गरे। राजदूत युकुताले प्रतियोगितामा सहभागि सबैको प्रस्तुती असाध्यै राम्रो भएकोमा खुसी व्यक्त गर्दै विजेताहरुलाई बधाईसमेत दिए।
कार्यक्रममा उपस्थित विद्यार्थी, प्रतियोगी, संस्थाका व्यवसायी सदस्य तथा अतिथिहरुलाई सम्बोधन गर्दै जाल्सानका महासचिव अरुण पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने सचिव महेश श्रेष्ठ र सदस्य मेरिया खड्कीले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा अन्य परामर्श व्यवसायी संघका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो।