स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिका–९, कालीगण्डकी नजिकै रहेको माझी बस्तीका बालबालिका विद्यालय जाँदैनन्। विद्यालय जान उनीहरूलाई अभिभावकले प्रेरित पनि गर्दैनन् । यसको एउटै कारण हो घर नजिकै विद्यालय नहुनु।
छिमेकी गाउँका बालबालिका विद्यालय गइरहँदा यो गाउँका बालबालिकाका हरेक दिन मनोरञ्जन र खेलमा रमाएर बित्ने गरेको छ।
विद्यालयको मुख देख्न नपाउनुमा गाउँमा विद्यालय नहुनु हो। उनीहरूलाई पढ्नका लागि कालीगण्डकी नदी तरेर अर्को प्रदेशमा जानुपर्ने बाध्यता छ। यही बाध्यताका कारण अभिभावक आफ्ना बालबालिकालाई पढ्न पठाउँदैनन्।
स्थानीय श्यामबहादुर माझीले भने, ‘बस्ती नजिक स्कुल छैन। टाढाको स्कुल पठाउन सकिएन।’ उनले गाउँका बालबालिकालाई पढ्नु पर्छ भन्ने सामान्य जानकारी पनि छैन । माझी बस्तीमा १७ घरपरिवार छन्।
उनीहरूका १९ जना बालबालिका विद्यालयको पहुँचबाट टाढा छन्। केही बालबालिका भने पढ्नका लागि छिमेकी जिल्ला पाल्पा पुग्ने गरेको स्थानीयको भनाइ छ। पढ्न गएकाहरू पनि तह अनुसारको पढ्ने उमेर नाघेका छन्।
माझी समुदायका अधिकांश मानिस पढ्न र लेख्न जान्दैनन्। स्थानीय दिलकुमारी माझीले गाउँमा विद्यालय नभएका कारण आफूहरू शिक्षाबाट वञ्चित हुनुपरेको गुनासो गरे। उनले विद्यालय नभएका कारण आफूहरू अन्य गाउँको तुलनामा हरेक हिसाबले पछिपरेको बताए।
उनले छोराछोरीलाई विद्यालय पठाउन सहज हुने खालको सचेतना आफ्नो बस्तीमा आवश्यक रहेको बताउँदै भने, ‘छोराछोरीलाई पाल्पा पठाउन कुनै अप्ठ्यारो थिएन तर यहाँको संस्कार नै यस्तै बनेको छ । छोराछोरी पढाउन एकल प्रयासले हुने अवस्था नै छैन।’
गल्याङ नगरपालिकाले भने माझी समुदायका बालबालिकालाई पढ्ने व्यवस्था गरिएको दाबी गरेको छ। नगरपालिकाका वडा नं ९ का अध्यक्ष नामदेव खनालले माझी बस्तीबाट आधा घण्टाको दुरीमा विद्यालय रहे पनि विद्यार्थी आफैँ अनुपस्थित रहेको दाबी गर्दै भने, ‘बालबालिकालाई शिक्षामा अगाडि ल्याउन र विद्यालय जाने वातावरण बनाउन पहल जारी छ।’
शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले धेरै विद्यार्थी विद्यालय नजाने आफूहरूलाई जानकारी नरहेको भन्दै यसबारेमा आफूले बुझ्ने र समस्या भएको भए समाधानका लागि पहल गर्ने बताए।
पठित धेरै भएको जिल्लाका रूपमा स्याङ्जालाई लिइन्छ। स्याङ्जालाई २०७१ सालमा पूर्ण साक्षर जिल्ला घोषणा गरिएको थियो। जिल्लाका ८१।७ प्रतिशत नागरिक साक्षर रहेको २०७८ सालको राष्ट्रिय जनगणनाले देखाएको छ।
गोरखापत्र दैनिकबाट