गुल्मी- गुल्मीको एक परिवारले आमाको पुण्यतिथिमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नका साथै शिक्षकलाई सम्मान गरेको छ।
जिल्लाको इस्मा गाउँपालिका –६ अमरपुर निवासी गोविन्द गौतम परिवारले आमा जानकी गौतमको २४ औँ पुण्यतिथिमा सोमबार अमरपुरकै एक सय ४८ विद्यार्थीलाई शैक्षिक सामग्री र आठ विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरेको हो।
गौतम परिवारले अमरपुरको आप्लाएस्थित देवीस्थान आधारभूत विद्यालयका २२ विद्यार्थीलाई स्वेटर र ५२ विद्यार्थीलाई कापी एवं सिम्पानीस्थित गोविन्दरत्न आधारभूत विद्यालयका १८ विद्यार्थीलाई स्विटर र ५६ विद्यार्थीलाई कापी प्रदान गरेको छ।
गोविन्दरत्न आधारभूत विद्यालयमा एक कार्यक्रम गरी अमरपुरका आठवटै विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको छ। अमरपुर ओमप्रसाद गौतम माविका तिल बहादुर पराजुली, गोविन्द रत्न लोकतान्त्रीक आधारभूत विद्यालयका टेकहरी पराजुली, देवीस्थान आधारभूत विद्यालयका लोकनाथ पाण्डे सम्मानित भए।
त्यसैगरी सरस्वती आधारभूत विद्यालयका गोपाल अर्याल, शहीद शमशेरबहादुर आधारभूत विद्यालयका धनिश्वर घिमिरे, बुल्म प्राथमिक विद्यालयका माया कुँवर, गहतेरा आधारभूत विद्यालयका मातृका पाण्डे र सरस्वती आधारभूत विद्यालयका धर्म पराजुलीलाई सम्मान गरिएको हो। प्रधानाध्यापकहरुलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ।
कोष स्थापना
गोविन्दकी आमा जानकीको २०५६ माघ १६ र बुवा रामबहादुरको ०७४ असोज ६ मा मृत्यु भयो।
बुवाआमाको निधनपछि छोरी पूर्णकला, छोराहरु गोविन्द, धनिश्वर र मोती एवं बुहारीहरु ललिता, संगीता र मीराले संयुक्त रूपमा बुवाआमाको नामबाट ०७५ सालमा ‘रामजानकी गौतम स्मृती कोष’को स्थापना गरे।
उक्त कोषमा अहिले वार्षिक ५० हजार रुपैयाँ ब्याज आउने गरी रकम जम्मा गरिएको छ । उक्त रकमबाट गौतम परिवारले प्रत्येक वर्ष शैक्षिक कार्यक्रम गर्दै आएको छ।
परिवारले बुवाको पुण्यतिथिको अवसरमा अमरपुर ओमप्रसाद गौतम माविमा बालकक्षादेखि कक्षा १२ सम्मका कक्षा प्रथम हुने विद्यार्थीहरुलाई प्रोत्साहन रकम प्रदान गर्ने गरेको छ।