काठमाडौँ स् राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास र विस्तार एवं संरक्षण गर्नुपर्ने बताएका छन्।
नातिकाजी स्मृति समाजले शीतलनिवासमा आज आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सङ्गीतमा विभिन्न जातजातिका बाजा, भाका, गीत, सङ्गीतका आफ्नै परिवेश, मौलिक धुन, विशिष्ट शैली र महत्व रहेको र त्यसको जगमा नै नेपाली राष्ट्रिय सङ्गीतको विकास हुँदै आएको धारणा व्यक्त गरे।
उनले नेपालको भौगोलिक विविधता र सांस्कृतिक विशिष्टता नै विश्वमा पृथक पहिचानका रुपमा रहेको र यहाँको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता विश्वमै नमूना रहेको उल्लेख गर्दै नेपाली समाजको विविधतालाई यिनै लोकसंस्कृति, गीत र सङ्गीतले एकढिक्का बनाउन सघाएको बताए।
राष्ट्रपति पौडेलले नेपाली लोक भाका पछ्याउँदै नेपाली आधुनिक गीत सङ्गीतको सृजनामा नातिकाजीले पुर्याएको योगदान अतुलनीय रहेको स्मरण गरे।
समारोहमा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बास्कोटाले यो सम्मानबाट कला क्षेत्रलाई थप उत्पेरेरणा मिलेको बताए।
समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान वरिष्ठ गीतकार आनन्द अधिकारी, वरिष्ठ वाद्यवादक केशव सुनाम, वरिष्ठ गीतकार भुषण खरेल, वरिष्ठ गीतकार सुनिल थापा, वरिष्ठ परम्परागत वाद्यवादक धर्म मुनिकार, वरिष्ठ गायक सुदेश शर्मा, वरिष्ठ वाद्यवादक कुमार सिंह र सुवर्ण लिम्बू, वरिष्ठ गीतकार राम भट्टराई र वसन्त वित्यासी थापालाई प्रदान गरिएको थियो।
त्यस्तै, नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार गीतकार विजय शिवाकोटी, सङ्गीतकार राजनराज शिवाकोटी, गायक शिशिर योगी र बानिका प्रधानलाई प्रदान गरिएको थियो।