काठमाडौँ- जापानीज ल्याङ्ग्वेज स्कुल एशोसियसन अफ नेपाल (जाल्सान)ले आज (शनिवार) रानीपोखरी परिसरमा साकुरा बृक्षारोपण गरेको छ।
जापानको राष्ट्रिय फुल साकुराको सौन्दर्य, महत्व र वतावरणमा पार्ने प्रभावलाई नेपालीहरुमाझ फैलाउने उदेश्यले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा रानीपोखरी परिसरमा ३३ वोट साकुरा बृक्षारोपण गरिएको जाल्सानले जनाएको छ।
ऐतिहासिक स्थल रानीपोखरीको थप सुन्दरताको लागि साकुरा बृक्षारोपन कार्यक्रममा काठमाडौ महानगरपालिका, वातावरण विभाग उद्यान तथा हरियाली प्रवद्र्धन आयोजना सहायक प्रमुख दामोदर लामा र वडा नं २७, २८, १२ र ३० का वडाध्यक्षहरु क्रमशः योगेश कुमार खड्की, भाईराम खड्की, बालकृष्ण महर्जन र दलबहादुर कार्कीको सहभागिता रहेको थियो।
त्यस्तै उक्त कार्यक्रममा नाकामिति मिकियोलगायत जाल्सानका पदाधिकारी र कार्यसमिति सदस्य तथा संस्थासँग आवद्ध सदस्यहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो।
नेपाल र जापानबीच रहँदै आएको मैत्री सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले नेपालको बिभिन्न ठाँउमा जापानीज संस्कृति ‘हानामी’लाई नेपालमा पनि फैलाउने र साकुरा पार्क बनाउने उद्देश्यले साकुरा रोप्दै आएको जाल्सानका अध्यक्ष रमेश देवकोटाले बताए।
‘हामीले वर्षैपिच्छे काठमाडौंका विभिन्न स्थानमा साकुराको विरुवा रोप्दै आएका छौं,’ उनले भने, ‘सामाजिक उत्तरदायित्व अन्तर्गत शहरको सौन्दर्य र वातावरणमा यसले ठूलो योगदान पुर्याउँछ भनेरै काठमाडौं महानगरपालिकासँगको समन्वयमा रानीपोखरी परिसरमा साकुरा रोपेका हौं।’ यसअघि कतिपय स्थानमा रोपेका साकुरा फुल्न थालिसकेको भन्दै उनले जाल्सानबाट समयसमयमा साकुराको हेरचाह तथा रेखदेख हुँदै आएको पनि जानकारी दिए।
यतिमात्र नभई जापानीज भाषा प्रवद्र्धनको लागि पनि विभिन्न कार्यक्रम गर्दै आइरहेको जाल्सानले यही माघ महिना भित्रै जापानिज ल्याङ्वेज स्पीच कन्टेस्ट पनि आयोजना गर्ने जनाएको छ।