काठमाडाैँ- विदेश अध्ययनमा जान चाहने विद्यार्थी सुरक्षित भविष्यको खोजीमा हुन्छन्। उनीहरूले आफ्नो भविष्य सुनिश्चित गर्न उपयुक्त शैक्षिक गन्तव्यमा पुगेर उच्च शिक्षा हासिल गर्ने चाहाना बोकेका हुन्छन्।
त्यसका लागि विद्यार्थीले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेश अध्ययनमा जानका लागि बनाएको आवश्यक मापदण्ड पुरा गरेर मात्र विदेशी विश्वविद्यालयमा भर्ना हुनुपर्छ। मन्त्रालयका अनुसार सम्बन्धित विषयमा विदेश अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर, एनओसी) लिएर मात्र जानुपर्ने हुन्छ। नेपाली विद्यार्थी कक्षा १२ उत्तीर्ण गरेसँगै विदेशी विश्वविद्यालयमा अध्ययनका लागि जाने गरेका छन्।
वागलुङकी ममता कुँवर कक्षा १२ उत्तीर्ण गरेसँगै जापानमा उच्च शिक्षा अध्ययनमा जाने योजनासहित काठमाडौँको पुतलिसडक चोकमा रहेको आसाई इन्टरनेशनल कन्सलटेन्सीमा जापानीज भाषा अध्ययन गरिरहेकी छन्। उनी जापानमा आफ्ना आफन्तहरू पनि भएको र भाषा सिकेपछि काम गर्दै पढ्न सक्ने भएकाले पनि जापान जाने तयारीमा रहेको बताउँछिन्।
‘जापानमा गएर दुई वर्ष भाषा स्कुलमा पढ्दा पार्ट टाइम काम गर्न सकिन्छ। पढ्दै कमाउन पनि सकिन्छ। दाइहरू पनि जानु भएको छ। यहाँ ब्याचलर पढौँ भने पनि पढिसकेपछि फेरि विदेश नै जानुपर्छ। नेपालमा राम्रो काम पाइदैन। जापानमा पढेर सकेपछि स्टुडेन्ट भिसालाई वर्किङ भिसामा कन्भर्ट गर्न पनि पाइन्छ।’ उनले आफूले अप्रिल इन्टेकका लागि अप्लाई गरिसकेको र अब सिओई आएपछि अरु प्रोसेस गर्ने बताइन्।
उनी जस्तै स्टडी डेस्टिनेशन सेन्टर बागबजारबाट युके अध्ययनमा जान भिसा पाइसकेका नुवाकोटका स्याम गुरुङले विदेश अध्ययनमा जाने चाहाना पूरा भएको र युकेमा गएर आफूले विश्वस्तरीय डिग्री लिने बताउँछन्। उनले पनि नेपालमा भन्दा युकेमा अध्ययन पश्चात अवसर पाइने भएकाले आफू जान लागेको बताए।
यी त प्रतिनिधी पात्र मात्र हुन्। अहिले नेपालका विश्वविद्यालयमा भएका सिटसंख्यामा विद्यार्थी अभाव छ भने एयरपोर्टमा विदेशमा अध्ययन र रोजगारीका लागि जाने युवाको लाइन देख्न सकिन्छ। विद्यार्थीले नेपालको विश्वविद्यालय शिक्षा रोजगारसँग जोडिन नसकेको र अध्ययन पश्चात अवसरको सुनिश्चितता नभएकै कारण आफूहरू विदेशीनु परेको बताउँदै आएका छन्।
यता शिक्षा क्षेत्रका सरोकारवालाले पनि विद्यार्थी पढ्नकै लागि मात्र नभएर अवसरको खोजिमा पनि विदेशीयको बताएका छन्। उनीहरू नेपालको विश्वविद्यालय शिक्षामा देखिएका समस्या, शिक्षण संस्थामा राजनीतिक प्रभाव, अध्ययन पश्चात रोजगारीको अवसर नहुनुले पनि विद्यार्थी र अभिभावकको विदेश मोह बढेको बताउँछन्।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले नेपालका विश्वविद्यालयले प्रचार गरे जसरी विद्यार्थी विदेश गएको नभएपनि यहाँका विश्वविद्यालयको शैक्षिक गुणस्तरमा देखिएको समस्या र सुरक्षित भविष्यको खोजीमा विद्यार्थी विदेश अध्ययनमा गएको बताउँछन्। उनका अनुसार विदेश अध्ययनका लागि अनुमति पत्र लिनेहरू सबै विदेश अध्ययनमा गएका छैनन्।
‘सबै नो अब्जेक्सन लेटर लिएका विद्यार्थीले भर्ना पाउँछन् भन्ने हुँदैन। कतिपय देशका विश्वविद्यालयमा विद्यार्थीले भिसा हुनुपूर्व शिक्षणसंस्थालाई शुल्क पठाउन एनओसी लिएका हुन्छन्। विद्यार्थीको भिसा रिजेक्ट भएपनि यसलाई नेपाल सरकारको तथ्याङ्कले देखाउँछ तर विद्यार्थी विदेश गएको भने हुँदैन।’ उनले विदेश अध्ययनमा विद्यार्थी जानुको कारणलाई थप स्पष्ट पार्दे भने, ‘सरकारले विदेश अध्ययनका विषयमा स्पष्ट नीति अख्तियार गर्न नसक्दा विद्यार्थीले समस्या भोग्नुपरेको छ।
विद्यार्थी कतिपय अवस्थामा नेपालमा पनि पढ्न नचाहने र विदेशमा पनि भिसा नपाएका कारण अन्योलनमा परेका छन्। सरकारले नबुझेरै कहिले कुन विषय एनओसी जारी गर्ने÷नगर्ने गरेको छ। विद्यार्थी सुरक्षित भविष्यको खोजीमा विदेशीयका हुन्। उनीहरू रहरले भन्दा पनि अवसरको खोजीमा विदेशमा उच्च शिक्षा हासिल गर्न गएका हुन् भन्ने बुझ्न जरुरी छ।’
सरकारले शैक्षिक परामर्श व्यवसायलाई संघ वा प्रदेश सरकार के अन्तर्गत राख्ने भन्ने निर्णय नगरेको र समयसमयमा गर्नुपर्ने अनुगमन नहुँदा यस व्यवसायमा थप जटिलता उत्पन्न भइ विद्यार्थीले पनि समस्या भोग्नुपरेको उनको भनाइ छ।
विद्यार्थीले विदेशी विश्वविद्यालयमा अध्ययन पश्चात अवसरहरू प्राप्त गरेकै कारण विदेश अध्ययन प्रति विद्यार्थी एंव अभिभावकको आकर्षण बढेको देखिन्छ। गत आर्थिक बर्षमा १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले विदेश अध्ययनमा जान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट एनओसी लिएका थिए।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा विद्यार्थी नेपालमा गुणस्तरीय शिक्षा नभएर भन्दा पनि अवसरको खोजिमा विदेशीयको बताउँछन्। ‘यहाँ गुणस्तर नभएर भन्दा पनि धेरै विद्यार्थी सुरक्षित भविष्यको खोजिमा विदेशीयका छन्। विदेशमा पढ्दै कमाउन पनि सकिने भएपछि उनिहरूको आकर्षण बढेको हो। नेपाली विद्यार्थीले विदेशमा उच्च शिक्षा आर्जन गरेपश्चात अवसर पनि पाएका छन्।’
शैक्षिक परामर्श व्यवसायीले विद्यार्थी लहहैमा लागेर भन्दा पनि भविष्यसँग जोडिएको विषय भएकाले त्यहाँको भौतिक, शैक्षिक वातावरण र अध्ययन पश्चात रोजगारीको अवसरको विषयमा सम्पूर्ण कुरा बुझेर मात्र अध्ययन गर्न जान सुझाब दिएका छन्।
एलमिरा इन्टरनेशनलका कार्यकारी निर्देशक विमन कार्कीले विद्यार्थीले आफू जान खोजेको देश, त्यहाँको शिक्षा नीति, विश्वविद्यालयको भौतिक शैक्षिक पूर्वाधार, लागत खर्च, बस्ने स्थान लगायतका विषयमा जानकारी लिनुपर्ने बताए। उनले भने,‘ विद्यार्थीले आफू अध्ययन गर्न जाने शिक्षणसंस्थाको शुल्क, आवासिय खर्च, बस्ने स्थान, रोजगारीको अवसर, त्यहाँको संस्कृतिकोबारेमा जानकारी लिनुपर्छ। अहिले प्रत्येक देशको विश्वविद्यालयका वेवसाइटमा पनि सूचना तथा जानकारीहरू राखिएको हुन्छ। विद्यार्थीले यी माथिका सम्पूर्र्ण विषयमा रिसर्च गरेर जाँदा सहज हुँन्छ।’
यस्तै अर्का शैक्षिक परामर्श व्यवसायी कान्तिपुर इन्टरनेशनल ओपन एजुकेशनका कार्यकारी निर्देशक बालकृष्ण श्रेष्ठले अहिलेको ग्लोबल मार्केटमा विद्यार्थीलाई नेपालमा रोक्न विश्वविद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्नुका साथै अध्ययन पश्चात अवसरको सृजना गर्नुपर्ने बताए। उनले भने,‘ विद्यार्थी विदेश अध्ययनमा जानुको प्रमुख कारण अध्ययन पश्चातको अवसर नै हो। नेपाली विश्वविद्यालयले आफ्नो शैक्षिक क्यालेण्डर लागु गर्न नसक्दा विद्यार्थीले अन्य मुलकका शिक्षणसंस्थालाई आफ्नो शैक्षिक गन्तव्य बनाएका छन्। अध्ययनकै क्रममा वा अध्ययन पश्चात विद्यार्थीलाई काम गर्ने वातावरण बन्नुपर्छ। यस्तो नभएसम्म विदेश जाने विद्यार्थीको संख्यामा कमी आउँदैन।’
विदेश जाने विद्यार्थीको उद्देश्य करिअर बनाउने हुनुपर्छ
रमन साह, प्रवन्ध निर्देशक, प्रोटोकल एजुकेशन एण्ड भिसा सर्भिसेस
विद्यार्थी विदेशमा पढ्दै कमाउँने उद्देश्य बोकेर गएका हुँन्छन्। विद्यार्थी आफ्नो करिअर बनाउन विदेश गएको हो। त्यसैले सुरुमा पढाइमा नै आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ। नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीलाई अष्ट्रेलियाको भिसा सक्सेस रेट कम हुँदा युके, क्यानडा, अमेरिका लगायत युरोपका विभिन्न मुलुकमा अध्ययका लागि जाने अवसर पनि छ। विद्यार्थीले आफ्नो भविष्य सुनिश्चित गर्न आफू अध्ययन गर्न जाने मुलुक र विश्वविद्यालयको सम्पूर्ण कुरामा जानकारी लिएर मात्र जानु उपयुक्त हुन्छ।
विदेश अध्ययनमा जानुअघि विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरू
१.आफू अध्ययन गर्न जाने देश, शिक्षणसंस्था र विषयको बारेमा रिसर्च गर्नुपर्छ।
२. विद्यार्थीले लागत खर्च र आर्थिक अवस्थालाई मध्यनजर गरेर मात्र कस्तो शिक्षणसंस्था उपयुक्त हुन्छ विचार गर्नुपर्छ।
३. आफ्नो रोजाइको करिअर अनुसार अध्ययन गर्ने विषय छनोट गर्नुपर्छ।
४. भाषागत दक्षता हासिल गरेर र आशिंक समय कामका लागि आवश्यक पर्ने सीप सिकेर मात्र विदेश अध्ययनमा मात्र जानु उपयुक्त हुन्छ।
५. पढेर दक्षता हासिल गर्ने उद्देश्य राख्नुपर्छ।