काठमाडौँ- एसआई युकेले देशका प्रमुख शहरहरूमा युके अध्ययन विशेष शैक्षिक मेलाको आयोजना गर्ने भएको छ।
सोमबार काठमाडौँको दरबारमार्गस्थित याक एण्ड यती होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाली विद्यार्थीहरूलाई बेलायत अध्ययन सम्बन्धी जानाकारी दिन मेला फेब्रुअरी ३ देखि ९ सम्म देशका विभिन्न शहरमा आयोजना हुने जानकारी दिइएको हो।
एसआई युकेले बेलायतको विश्वविद्यालयहरूको भौतिक शैक्षिक वातावरण, त्यहाँको पूर्वाधार, शैक्षिक स्तर, फी स्टक्चर, छात्रवृत्ति लगायत बेलायतको नियम कानुन सम्बन्धि जानाकारी दिन मेला आयोजना गर्न लागिएको जनाएको छ।
उक्त मेलामा बेलायतका ३५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने एसआईयुकेका निर्देशक विनय अधिकारीले जानकारी दिए।
उनले भने, ‘पछिल्लो समय बेलायत सरकारले विद्यार्थीहरुका लागि नयाँ नीति ल्याएको छ यो नीतिको बारेमा बजारमा गलत प्रचार भैरहेको छ, अध्ययन अनुसन्धान गर्न जानेको हकमा कुनै समस्या छैन, युके पढ्न जाने विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो। अहिले ब्याचलर र मास्टर्स प्रोग्राममा जान चाहनेले डिपेन्डेन्ट लान नपाउने व्यवस्था भएको हो।’
निर्देशक अधिकारीले सिप सिकेर गएका विध्यार्थीहरूले गएको केहि दिनमै काम पाएको र पढाइको बिचमा पनि हप्ताको २० घण्टा काम गर्न अनुमति भएकाले कुनै समस्या नआएको बताए।
शैक्षिक मेला नेपाल स्थित एसआई युकेको पुतलीसडकस्थीत केन्द्रीय कार्यालय काठमाडौँमा फेब्रुअरी ३ तारीक, ५ तारिक पोखरा, ७ तारिक बुटवल र ९ तारिक चितवनमा बेलायतका विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ।