काठमाडाैँ- त्रिभुवन विश्वविद्यालय त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आजदेखि सेवा अनलाइनबाटै दिने भएको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइबाटै लिन सकिने छ।
केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशन गरी जानकारी दिने कार्यालयले बताएको छ।
ट्रान्सक्रिप्टका लागि अनलाइन आवेदन कसरी दिने ?
१. सबैभन्दा पहिले यहाँ क्लिक https://tuexam.edu.np/ गरेर परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइटमा जानुहोस्।
२. त्यसपछि त्यहाँ होमपेजमा देखाइएको सर्टिफिकेट ‘Certificate’ को लिङ्कमा क्लिक गर्नुहोस्।
३. यति गरेपछि साइन अप (Sign Up) अप्सनमा जानुहोस्।
४. अब ईमेलमा आएको लिङ्कमा क्लिक गरेर दर्ता गर्नुहोस्।
५. त्यसपछि रजिस्ट्रेसन स्लिप अपलोड गर्ने इन्टरफेस आउँछ । ( pdf, jpg वा image form को प्रयोग गर्न सकिन्छ।)
६. त्यसपछि ट्रान्सक्रिप्ट ‘Transcript’ मा गएर आवश्यक सूचना भर्नुहोस् । त्यसैगरी अन्य सेवा आवश्यक भए सोही अनुसार माग गरिएको सेवामा क्लिक गरी माग भएको सूचना उपलब्ध गराउनुहोस्।
७. अनि अनलाइनमा उल्लेख गरिएको सूचना अनुसार फारम भर्नुहोस् र सोही अनुसार बैंकमा तोकिएको रकम जम्मा गरी अन्त्यमा ‘सब्मिट’ (submit) गर्नुहोस्।
८. सब्मिट भएपछि सम्बन्धित शाखाबाट उक्त सूचनाको आधारमा सेवा प्रवाहको प्रक्रिया सुरु हुनेछ र सबै प्रक्रिया मिलेको खण्डमा ट्रान्सक्रिप्ट प्रिन्टको प्रक्रियामा जानेछ।
९. प्रमाणीकरण गरी तयार भएको ट्रान्सक्रिप्टको सूचना सेवाग्राहीलाई पठाइने छ। यदि सूचना अपूर्ण भएमा वा गलत भएमा सोको जानकारी पनि सम्बन्धित विद्यार्थीलाई पठाइने परीक्षा नियन्त्रण कार्यालय बल्खुले उल्लेख गरेको छ । र, आवश्यक प्रक्रिया पूरा गरी पुनः अपलोड गरी पूर्ववत् सेवा सुचारु भई कार्यान्वयनमा जानेछ ।
१०. अनलाइन सेवाबाट सेवा सुविधा लिने विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत वितरण गरिनेछ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो सेवा आज (सोमबार)का दिन बिहान १०ः०० बजेदेखि सञ्चालन हुनेछ र केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुनेछ र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशित हुनेछ।
नाम, थर आदि सच्याउने प्रक्रियाका लागि आवश्यक प्रमाण आफूलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय बल्खुस्थित केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने हुन्छ।
प्रमाणपत्र सङ्कलन गर्दा स्वयं वा इच्छाएको व्यक्ति मार्फत प्रमाणसहित आउनुपर्ने कार्यालयले जनाएको छ। यो प्रक्रियासँग सम्बन्धित केही समस्या भएमा ईमेल वा फोन नम्बर मार्फत सूचना आदान प्रदान गरिने भएकोले आफ्नो सम्पर्क नम्बर र ईमेल एड्रेस सोही अनुसार अपलोड गर्नुपर्नेछ।