नेपालगञ्ज- कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ तयार पारेको छ। कक्षा १ देखि ५ सम्म पढाइने सो पुस्तक नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले आज आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरियो।
यसै शैक्षिक सत्रदेखि कोहलपुर नगरपालिकाका ३१ सामुदायिक र ४९ संस्थागत विद्यालयमा ‘हाम्रो कोहलपुर’ पाठ्यपुस्तक पढाइ हुने शिक्षा तथा खेलकुद शाखाका शिक्षा अधिकृत रविलाल मिजारले जानकारी दिए।
सात एकाइ र विभिन्न पाठ समेटेर हाम्रो कोहलपुर पुस्तक तयार पारिएको छ। जसमा कोहलपुरको परिचय, कोहलपुरमा मानवनिर्मित सम्पदाको महत्व र विशेषता, हाम्रा विकासका पूर्वाधार, हाम्रो पेशा, व्यवसाय र प्रविधि, खुसीका लागि शिक्षा र जीवनपयोगी सीप, हाम्रो वातावरण र विपद् व्यवस्थापन लगायतका बिषयलाई समेटेर पाठ्यपुस्तक तयार पारिएको विज्ञ ऋषि शर्माले बताए। स्थानीय स्रोतसाधन, स्थानीय विज्ञ र स्थानीय विषयलाई समेटेर पुस्तक तयार पारिएको उनको भनाइ छ।
नगर प्रमुख पूर्णप्रसाद आचार्यले स्थानीय स्रोतसाधनको उपयोग र स्थानीय विज्ञको विज्ञताबाट लेखिएको पुस्तक विद्यार्थीका लागि मात्रै नभएर कोहलपुरबासीका लागि उपयोगी भएको बताए। उनले कक्षा ६, ७ र ८ का लागि पनि स्थानीय पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याइने बताए।
उनले पुस्तकले स्थानीय भाषा, कलासंस्कृति, भूगोल, पर्यटन, कृषि, वातावरण संरक्षण, विपद् व्यवस्थापन, पूर्वतयारी लगायत बालबालिकालाई श्रम, सृजना र ज्येष्ठ नागरिकप्रतिको सम्मान गर्ने तरिका सिकाएको उल्लेख गरे।
नगर उपप्रमुख संगीता सुवेदीले कोहलपुरको पहिचानका लागि स्थानीय पाठ्यपुस्तक उपयोगी भएको बताए। उनले आफू बसेको भूगोल, पहिचानबारे हरेक विद्यार्थीलाई जानकारी हुनु अपरिहार्य रहेको समेत बताए। रासस