काठमाडाैँ- पछिल्लो समय नेपाली विद्यार्थीको शैक्षिक गन्तव्य परिवर्तन भएसँगै व्यवसायीले विभिन्न समस्याको सामना गर्नुपरेको छ। परामर्श क्षेत्रका छाता सँगठनहरूले व्यवसायीक हितका लागि विभिन्न कार्यक्रम सञ्चालन पनि गरेका छन्। यस व्यवसायलाई व्यवस्थित गर्ने सवालमा सरकारले भने त्यति चासो दिएको देखिदैन। जसका कारण व्ययवसायिले अनावश्यक झमेला झेल्नुपरेको छ। व्यवसायीका समस्या समाधान गर्न छातासँगठनको भूमिका कस्तो हुनुपर्छः? यस व्यवसायलाई व्यवस्थि गर्नेतर्फ छातासँगठनको भूमिका लगायतका विषयमा शैक्षिक परामर्श व्यवसायीहरूको छातासँगठन स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) का अध्यक्ष राजु निरौलासँग सम्पादक विपिन पोख्रेलले गरेको शैक्षिक संवाद।
परामर्श व्यवसायीले भोग्नु परेका समस्या के - कस्ता छन्? यसलाई समाधान गर्न फेकनको भूमिका कस्तो हुनुपर्छ?
नेपाली विद्यार्थीको शैक्षिक गन्तव्य परिवर्तन भएको छ। यसले परामर्श क्षेत्रमा थप चुनौति थपिदिएको छ। अष्ट्रेलिया नेपालबाट अध्ययन गर्न जाने विद्यार्थीको पहिलो रोजाइको गन्तव्य हो तर पछिल्लो समय भिसा सक्सेस रेट घटेका कारण विद्यार्थीले शैक्षिक गन्तव्य परिवर्तन गरेका छन्। अहिले विद्यार्थीको मनोविज्ञानमा पनि परिवर्तन आएको छ। उनीहरूमा अन्योलको स्थिति सिर्जना पनि भएको छ। अष्ट्रेलियाका अलावा नेपाली विद्यार्थीको शैक्षिक गन्तव्यको रुपमा क्यानडा, जापान, युके, अमेरिका रहेका छन्। तर, अष्ट्रेलिया जत्तिकै आकर्षक गन्तव्य बन्न सकेको अवस्था छैन।
क्यानडा अप्लाई गर्ने विद्यार्थीको संख्यामा भने उल्लेख्य वृद्धि भएको छ। परामर्श व्यवसायीले विद्यार्थीको शैक्षिक गन्तव्य परिवर्तन हुँदै गर्दा आफूलाई पनि अपडेट गर्नुपर्ने हुन्छ। परामर्श व्यवसायीले विद्यार्थीले आवेदन गरेको कलेजमा भिसा रिजेक्ट भएपछि शिक्षण शुल्क रिफन्ड गर्न ढिलाई भएका कारण समस्या भोग्नुपर्छ।
स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)ले यस्ता समस्या समाधान गर्न आफ्ना सदस्यलाई नयाँ शैक्षिक गन्तव्यको बारेमा तालिम प्रदान गर्दै आएको छ। उनीहरूलाई व्यवसायीक उन्नतिका लागि पहल गरेको छ। विभिन्न कुटनीतिक नियोगबाट आएका सूचनालाई हामीले सबै सदस्यमाझ सर्कुलर गर्ने गरेका छौँ। हाईकमिसनसँग इमेल गरेर पनि आवश्यक तथ्य पत्ता लगाउने र व्यवसायीलाई सहजिकरण गरेका छौँ।
हामीले परामर्श व्यवसायीका समस्यालाई सम्बन्धित निकायसँग राख्ने काम गरेका छौँ। विशेष परिस्थितिमा व्यवसायीक हितमा फेकनले समस्या समाधानका लागि पहलकदमी लिएको अवस्था छ। फेकनले परामर्श व्यवसायीलाई परिवर्तित शैक्षिक गन्तव्यको विषयमा तालिम दिने, कर प्रणाली, आवश्यक कागजात, भिसा आवेदन प्रक्रियाका साथै विभिन्न शैक्षिक परामर्शसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाका तालिमका लागि सहजिकरण गरेका छौँ।
नेपाली विद्यार्थीको शैक्षिक गन्तव्य परिवर्तन हुँदै गर्दा परामर्श व्यवसायीले के कुरामा ध्यान दिनुपर्छ?
विद्यार्थीले आफू जान चाहेको मुलुकमा भिसा नलाग्दै गर्दा अर्को अप्सन पनि राखेका हुन्छन्। नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया पछिको उपयुक्त शैक्षिक गन्तव्य क्यानडा हो। नेपाली विद्यार्थी युरोपका विभिन्न मुलुकमा अध्ययनका लागि पनि जाने गरेका छन्। विद्यार्थीलाई छात्रवृत्तिकोटामा अध्ययन गर्न मिल्ने गुणस्तरिय शिक्षा प्रदान गर्ने विश्वका उत्कृष्ट शिक्षालयहरूमा पढ्न पठाउन परामर्श व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ।
विद्यार्थीलाई करिअर काउन्सिलिङ गर्ने तर्फ परामर्श व्यवसायीले ध्यान दिनुपर्छ। विद्यार्थीलाई परामर्शदातृ संस्थाले पढ्न जान लागेको मुलुकको भौतिक शैक्षिक वातावरण, त्यहाँको संस्कृति, शैक्षिक गुणस्तर, सेवा सुविधा, पूर्व तयारी कक्षाको विषयमा जानकारी दिनुपर्छ। अहिले अमेरिकामा पनि विद्यार्थीले छात्रवृत्तिकोटामा भर्ना पाएको अवस्था छ।
परामर्श व्यवसायीले परिवर्तित शैक्षिक गन्तव्य र त्यहाँको भिसा पोलिसिबारे विद्यार्थीलाई सम्पूर्ण जानकारी दिन सक्नुपर्छ। परामर्श व्यवसायीले पनि शैक्षिक गन्तव्यबारे विद्यार्थीलाई रिसर्च गर्न लगाउनुपर्छ।
अष्ट्रेलियाको भिसा रिजेक्ट हुनुको प्रमुख कारण के देख्नुहुन्छ?
अष्ट्रेलियाको भिसा रिजेक्ट हुनुको प्रमुख कारण नेपाली विद्यार्थीको फाइनानसियल डकुमेन्ट नै अपारदर्शी देखिनु हो। अष्ट्रेलियामा आप्रवासी बढेसँगै यसलाई कम गर्न पनि भिसा रेट घटेको हुनसक्छ। अष्ट्रेलियाले विद्यार्थीको भाषागत दक्षतामा पनि वृद्धि गरेको छ। विद्यार्थीलाई अभिभावकको आम्दानीको स्रोतका कागजातमा पनि आयकरलाई पारदर्शी रुपमा देखाउन भनेको छ। तर, नेपालमा यस विषयमा सबै अभिभावक जगरुक पनि हुनुहुन्न र सरकारले पनि प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्न सकेको अवस्था छैन।
जसले गर्दा कागजात बनाउँदा त्रृटि हुन्छ। अहिले पनि घरभाडा खातामा जम्मा गर्ने प्रचलन छैन। घरबहाल कर तिर्ने प्रणालीको विकास भइसकेको छैन। जसले गर्दा समस्या देखिएका छन्। अष्ट्रेलिया अप्लाई गर्ने विद्यार्थीको अभिभावकले आम्दानीको स्रोतलाई पारदर्शी रुपबाट देखाउन सक्नुपर्छ। कर्मचारीकोहकमा मासिक तलब, व्यापारीको हकमा आम्दानी बैंकिङ प्रणालीबाटै भएको देखिनुपर्छ।
परामर्श व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न सरकारले के गर्नुपर्छ?
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक परामर्श क्षेत्रलाई हेर्ने शाखालाई अझ क्रियाशिल र व्यवस्थित बनाउँदै व्यवसायीलाई नियमन गर्ने तर्फ सरकारले ध्यान दिनुपर्छ। शैक्षिक गन्तव्य परिवर्तन हुदैँ गर्दा विभिन्न खालका समस्या देखिन्छन्। विदेश अध्ययन अनुमतिपत्र (एनओसी)को विषयमा पनि समस्या देखिने गरेको छ। यस्ता समस्यालाई तत्काल समाधान गर्न सरकार जिम्मेवार हुनुपर्छ।
उच्च शिक्षा ऐन निर्माण गर्दा परामर्श व्यवसायीका छातासँगठनसँग छलफल गरेर मात्र तय गर्नुपर्छ। हामीले परामर्श व्यवसायलाई नविकरण गर्ने विषयलाई पनि प्राथमिकता दिन भनेका छौँ। यस व्यवसायलाई व्यवस्थित गर्ने दायित्व राज्यको हो। यो व्यवसाय केन्द्र वा प्रदेश कुन अन्तर्गत रहने अन्योल कायम छ त्यसैले यसबारेमा पनि सरकारले चाडै निर्णय लिनुपर्छ।
यी विविध कारणले परामर्श व्यवसायमा जटिलता थपिएको छ। सरकार परामर्श व्यसायीलाई नियमन गर्ने सवालामा पनि अझ जवाफदेही बन्नुपर्ने अवस्था छ। परामर्श व्यवसायको आवरणमा अन्य गतिविधी गर्ने, मेनपावरको काम गर्ने, वर्किङ भिसाको काम गर्नेहरू पनि छन्। यस्तालाई नियन्त्रण गर्न र कारवाहीको दायरामा ल्याउन जरुरी छ।
फेकनको सेवाबाट परामर्श व्यवसायीले लाभ लिन सकेका छन् त? आगामी कार्ययोजना के–के छन्?
फेकनले परामर्श व्यवसायीको हितमा काम गर्दै आएको छ। उनीहरूको समस्या समाधान गर्नकै लागि यो संस्था स्थापना भएको हो। फेकनले काउन्सिलर ट्रेनिङ, स्टाफ म्यानेजमेन्ट, कर र लेखा व्यवस्थापन लगायतका विषयमा तालिम सञ्चालन गर्दै व्यवसायीक हितमा काम गरेको छ। व्यवसायीको क्षमता विकासमा फेकनले तदारुपता देखाएको छ।
अहिलेको कार्यसमितिका महासचिव देखि सदस्यसम्म सम्पूर्ण टिम नै फेकनको गतिविधी अघि बढाउन सक्रिय हुनुहुन्छ। नेपाल सरकार व्यवसायीक तालिम परिषद् अन्तर्गतको टिआईटीआई ट्रेनिङ व्यवस्थापनमा बागमति प्रदेशसँग समन्वय गर्दै फेकनको तर्फबाट सहयोगी भूमिका निर्वाह गरेका छौँ। फेकनमा अहिलेसम्म रोकिएका सबै काम अघि बढाएका छौँ।
फेकनले अन्य संघ संगठनसँग हातेमालो गर्र्दै व्यवसायिक हितका लागि काम गर्दै आएको छ। यस व्यवसायलाई मर्यादित र व्यवस्थित गर्ने सवालमा सबैसँग सहकार्य र समन्वयकारी भूमिका निर्वाह गर्दै अघि बढ्ने योजनामा छौँ। संगठन भन्दा बाहिर रहेका व्यवसायीलाई संगठित गर्दै फेकनमा सदस्यसंख्या वृद्धि गरेका छौँ। कुनै पनि संगठनमा आवद्ध नभएका व्यवसायीलाई संगठनको आवश्यकता र औचित्यबारे जानकारी गराउन आगामी दिनमा पनि हाम्रो भूमिका महत्वपूर्ण रहन्छ। अहिले फेकनमा करिब ४० वटा नयाँ सदस्यहरू थपिनु भएको छ। यसलाई बढाउँदै लाने योजनामा छौँ।
परामर्श व्यवसायीकोमा आउँदा अभिभावक र विद्यार्थीले ध्यान दिनुपर्ने विषय के-के छन्?
परामर्श व्यवसायी सबै सक्षम हुन्छन् भन्ने हुँदैन। कतिपय व्यक्तिहरूले अन्य पेसा व्यवसायमा भएर पनि यसलाई सहायक पेसाको रुपमा अघि बढाएको पनि हुनसक्छ। विद्यार्थीलाई सत्य तथ्य जानकारी दिन सक्ने, लामो समयदेखि यहिँ व्यवसायलाई आफ्नो प्रमुख पेसा बनाएका परामर्श व्यवसायीकोमा गएर शैक्षिक परामर्श सेवा लिनु उपयुक्त हुन्छ।
यो व्यवसायलाई नै आफ्नो भविष्य बनाएको व्यसायीबाट विद्यार्थीले समस्या झेल्नु पर्दैन। म आफै पनि विगत लामो समयदेखि यहिँ पेसामा छु। मैले चाहेर पनि यो पेसा छोड्न सक्ने अवस्था हुँदैन। यो पेसामा मनग्य कमाई हुँने आसमा पनि कति व्यवसायी आएका छन्। यस विषयमा सजग हुनुपर्छ। विद्यार्थीले आफू जाने देशकोबारेमा विज्ञता हासिल गरेका दक्ष परामर्श व्यवसायीबाट परामश लिनु उपयुक्त हुन्छ। अभिभावक र विद्यार्थीले परामर्श दातृसंस्थाको इतिहास, सञ्चालकको पृष्ठभूमी लगायतका विषयमा ध्यान दिनुपर्छ।