काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले सुधारको संकेत देखाउँदै शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ।
त्रिविमा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेन्डर २०८० कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ।
सार्वजनिक गरिएको शैक्षिक क्यालेन्डर अनुसार स्नातक तहको परीक्षा २०८१ को भदौ दोस्रो हप्ताबाट हुनेछ। सेमेस्टर प्रणालीको भने प्रथम सेमेस्टरको २०८१ को वैशाखबाट हुनेछ। त्यस्तै स्नातकोत्तर तहको प्रथम सेमेस्टरको परीक्षा २०८१ को असारमा हुनेछ।
माघ १५ गतेदेखि शैक्षिक प्रमाणपत्र निकाल्ने काम अनलाइन मार्फत हुने पनिकाले जनाएको छ।
यस वर्ष साउनमा भर्ना भएका पहिलो वर्षका विद्यार्थीले ०८३ चैत दोस्रो सातासम्म चौथो वर्षको पढाइ पूरा गर्ने र ०८४ वैशाख दोस्रो साता परीक्षा हुने मिति नै तय गरेर शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको हो।
क्यालेण्डर अनुसार साउन दोस्रो सातासम्म मात्रै कक्षा हुनेछ। त्यस्तै सेमेस्टर प्रणाली अनुसार यस वर्ष भर्ना भएका विद्यार्थीले आठौँ सेमेस्टर ०८४ असोजमा परीक्षा सकिने योजना सहितको शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको हो।
त्रिविका अनुसार पहिलो सेमेस्टरको परीक्षा ०८१ वैशाख, दोस्रोको ०८१ असोज, तेस्रो सेमेस्टरको ०८१ चैत, चौथो सेमेस्टरको ०८२ भदौ÷असोज, पाँचौँको ०८२ चैतमा परीक्षा गर्ने योजना क्यालेण्डरमा उल्लेख छ । छैटौँ सेमेस्टरको परीक्षा ०८३ असोज, सातौँको ०८३ चैत र आठौँको ०८४ असोजमा परीक्षा गर्ने क्यालेण्डरमा उल्लेख छ।
०८० माघ पहिलो साता स्नातकोत्तरको पहिलो सेमेस्टर भर्ना भएका विद्यार्थीले पहिलो सेमेस्टर ०८१ असारमा पहिलो सेमेस्टरको परीक्षा दिने, दोस्रो सेमेस्टर ०८१ माघ, तेस्रो सेमेस्टर ०८२ असार र चौथो सेमेस्टर ०८२ पुसमा परीक्षा लिने गरी विश्वविद्यालयले शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको हो।