बागलुङ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यार्थीलाई आफूले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।
उनले विद्यालयले मुलुकका ठूला र राष्ट्रिय व्यक्तिहरु उत्पादन गरेको बताए। उनले विद्यालयको शैक्षिकस्तर र भौतिक पूर्वाधार विकासमा सबैको साथ आवश्यक रहेको उल्लेख गरे।
आज बागलुङ नगरपालिका–१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयको ७४औँ वार्षिकोत्सवमा सम्बोधन गर्दैै उनले विद्यालय पश्चिम नेपालको एक पुरानो र गौरवमय इतिहास बोकेको विद्यालय भएको समेत उल्लेख गरे।
विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका अध्यक्ष ढकालले विद्या नै सबैभन्दा ठूलो धन भएकाले यस शाश्वत सत्यलाई बुझेर विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी र सिङ्गो समुदाय शैक्षिक सुधारमा लाग्नुपर्नेमा जोड दिए। सैद्धान्तिकरुपमा आर्जन गरेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर व्यावहारिक सीपको विकास गरी उद्यमी बन्न उनको सुझाव थियो।
अध्यक्ष ढकालले भने, 'यो विद्यालयले मुलुकका महत्वपूर्ण भूमिकामा रहेर काम गर्ने जनशक्ति उत्पादन गरेको छ, सबै तहमा रहेकाले अब यस विद्यालयको शैक्षिक र भौतिक विकासका लागि लाग्नुपर्ने भएको छ, अब विद्यार्थीले आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर सिर्जनशील बन्नुपर्छ र उद्यमी बन्नेतर्फ ध्यान दिन जरुरी छ ।'
गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण पाठकले शिक्षा क्षेत्रको विकास नभइ मुलुकको विकास नहुने भन्दै शैक्षिक उन्नयन र विकासका लागि लाग्नुपर्नेमा जोड दिएका छन्।
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले पालिकालाई आगामी वर्ष पूर्णबालबालिकमैत्री घोषणा गर्ने गरी काम भइरहेको बताए। सोहीअनुसार विद्यालयको शैक्षिक गतिविधि, भौतिक संरचना सुधार भइरहेको उनको भनाइ थियो।
सो अवसरमा विद्यालयका पूर्वप्रधानाध्यापक ईश्वरीप्रसाद ढकाल सम्मानित भएका थिए। विसं २००७ मा स्थापना भएको थियो । विद्यालयले लामो समयसम्म विभिन्न समस्याका बाबजुद पठनपाठनलाई प्रभावकारी बनाउँदै आएकामा पछिल्लो समय भौतिक संरचना र शैक्षिक गुणस्तर बढ्दै गएको प्रधानाध्यापक तिलक आचार्यले बताए।