काठमाडाैँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रवार राजधानीको गैरीधारा स्थित सिल्भर ओक बैक्वेट एन्ड इभेन्ट्समा आयोजित एक कार्यक्रमकाबीच संस्थाले साधारण सभा सम्पन्न गरेको हो।
कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी उपिस्थत भएकी थिइन् भने कार्यक्रममा विशेष अतिथिकाे रूपमा नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटि भल्क, नेपाल सरकारका उपसचिव तथा शैक्षिक परामर्श प्रमाणीकरण शाखा प्रमुख सिमान्त कोइराला, अस्ट्रेलिया स्थित एनएसडब्लु राज्यका पूर्व महावाणिज्य दूत दिपक खड्का, काठमाडौँ विश्वविद्यालयका सह-प्राध्यापक निर्मलमणि अधिकारी, आइडिपी तथा ब्रिटिस काउन्सिलका प्रतिनिधि लगायत अन्य शैक्षिक परामर्श संघका प्रतिनिधिकाे उपस्थिति रहेको थियो।
कार्यक्रममा बाेल्दै शिक्षा, विज्ञान तथा विज्ञान प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले नेपाललाई शैक्षिक हव बनाउन पहल गर्ने र कानुनी समस्या समाधान गर्ने बताइन्। ‘अहिले नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुको संख्या धेरै छ, यो शैक्षिक हब हुने ठाउँ पनि हो, अब हामीले विदेशी विद्यार्थीलाई पनि नेपालमा आकर्षण गर्न जरुरी छ,’ उनले भनिन्, ‘नेपालबाट विद्यार्थी विदेश गएपनि विदेशका विद्यार्थी नेपालमा ल्याउन सके त्यसबाट बढी फाइदा पुग्छ।’
उनले यस व्यवसायलाई संघ र प्रदेश के अन्तर्गत राख्ने भन्ने विषयमा अन्याेल कायम रहेकाले यसबारेका अन्याेल हटाउन पहल गर्ने बताइन्।
कार्यक्रममा बाेल्दै फेकनका अध्यक्ष राजु निरौलाले नेपालबाट विद्यार्थी विदेश पठाउने मात्रै नभएर विदेशबाट विद्यार्थी नेपाल ल्याउन पनि पहल गर्ने बताए। उनले भने,‘ सरकारले कानुनी जटिलता हटाएर हामीलाई सहयाेग गर्छ भने हामी विदेशी विद्यार्थी नेपाल ल्याउन पहल गर्न सक्छौं’। उनले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित गर्ने दायित्व सरकारकाे भएकाले सरकारले यस क्षेत्रकाे बारेमा छलफल गरेर मात्र नीति अख्तियार गर्नुपर्न बताए।
फेकनमा ३५० भन्दा बढी परामर्श व्यवसायी रहेकाे र उनीहरूले विद्यार्थीलाई विदेश अध्ययनमा जानलाई सत्यतथ्य सूचना प्रवाह गर्ने गरेकाे अध्यक्ष निराैलाकाे भनाई छ।
कार्यक्रममा बाेल्दै फेकनका पूर्व अध्यक्ष युवराज कटुवालले फेकन स्थापनाको पृष्ठभूमि देखि परामर्श व्यवसाय क्षेत्रमा हाल देखिएका समस्या/चुनौतीहरूको समेत चर्चा गरेका थिए। कटुवालले व्यवसायीक क्षेत्रमा देखिएका समस्या समाधानका लागि राज्यले नीति निर्माण तहबाट खेल्नु पर्ने भूमिकाबारे सरकारकाे ध्यानाकर्षण गराएका थिए। यसका साथै फेकनका संस्थापक अध्यक्ष मान बहादुर राई र निवर्तमान अध्यक्ष वासुदेव नेपालले फेकनले घोषणा गरेको नेपाललाई शैक्षिक हब बनाउने अभियानमा हातेमालाे गरेर अघि बढ्ने बताए।
कार्यक्रममा एईक्यानका अध्यक्ष किशोर तिवारी, आइरिनका अध्यक्ष हेमन्त भट्टराई, नेकाका सचिव सुबेन्द्र थापा लगायतले परामर्श व्यवसायको बर्तमान अवस्था, यस क्षेत्रले भोग्नुपरेका समस्याहरकाे बारेमा सरकारकाे ध्यानाकर्षण गराएका थिए।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उमेश कुश्वारले स्वागत मन्तब्य राखेका थिए।कार्यक्रमका वक्ताहरुले नेपाललाई शैक्षिक हब बनाउन विदेशी विद्यार्थीलाई आकर्षण गर्नुपर्ने बताएका थिए।