काठमाडौँ- शैक्षिक परामर्श संघ, नेपाल (एप्क्यान)को प्रथम साधारण सभा सम्पन्न भएको छ। एप्क्यानले राजधानीको शंकर होटलमा आफ्नो पहिलो साधारणसभा सम्पन्न गरेको हो।
साधारण सभामा बोल्दै प्रमुख अथिति एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले शैक्षिक परामर्श व्यवसाय शिक्षा क्षेत्रको एउटा अभिन्न अंग बनिसकेको बताए। उनले भने,‘परामर्श व्यसायलाई शिक्षाको मुलधार भन्दा बाहिर राख्न मिल्दैन। कन्सल्टेन्सीको नाममा भएका गैरकानुनी कामलाई निरुत्साहित गर्नुपर्छ। परामर्श व्यवसायीले पनि विद्यार्थीको भविष्य सुनिश्चित हुने ठाउँका विश्वविद्यालय र कलेजमा मात्रै पठाउनुपर्छ।’
उनले अहिले उच्च शिक्षा ऐन निर्माणको प्रक्रियामा रहेको र परामर्श व्यवसायीसँग छलफल गरेर मात्र नीति बनाउने बताए। सचिव अधिकारीले भने,‘अहिले परामर्श व्यवसायलाई संघले हेर्ने कि प्रदेशले हेर्ने भन्ने कानुनी जटिलता छ। यस व्यवसायममा विदेश अध्ययन अनुमति पत्रका विषयमा देखिएको जटिलता समाधान गर्ने पक्षमा हामी सचेत छौँ। शिक्षा मन्त्रालयले विदेशका विश्वविद्यालयलाई लिस्टिङ गर्ने प्रक्रिया सहज बनाएकाे छ। दुई बर्षदेखि शैक्षिक मेला आयोजना गर्न बन्द गरिएको थियो। तर, यसलाई पुर्नविचार गरेर व्यवस्थित ढंगबाट शैक्षिक मेला आयोजना गर्न दिने भनेका छौँ।’ परामर्श व्यवसायलाई थप मर्यादित र व्यस्थित गर्ने सवालमा आफू सकारात्मक रहेको उनको भनाइ छ।
यस्तै कार्यक्रममा बोल्दै विशेष अथिति एवं पेशागत महासंघ नेपालका उपाध्यक्ष, आधिकारिक ट्रेड यूनियन महासंघका कार्यवाहक अध्यक्ष, विश्व ट्रेड युनियन महासंघ संग आवद्ध ट्रेडयुनियन इन्टरनेशनल पब्लिक सर्भिस एण्ड एलाइडका उपाध्यक्ष तथा एसिया प्रसान्त क्षेत्रका इन्चार्ज भोलानाथ भोलानाथ पोख्रेलले यस संस्थाले छोटो अवधिमा नै आफ्नो उद्देश्य अनुसारको काम गर्न सफल भएकोमा सुभकामना दिए।
परामर्श व्यवसायीले विद्यार्थी विदेशमा पठाउने मात्रै नभएर विदेशबाट नेपालमा पनि विद्यार्थी ल्याउन सक्ने भएकाले राज्यले यस विषयमा ध्यान दिनुपर्ने बताउदै उनले भने,‘परामर्श व्यवसायीले विभिन्न समयमा उतारचढावको सामना गर्नुपरेको छ। नेपाल सामन्ति अवस्थाबाट आज यो अवस्थामा आइपुगेको छ। अहिले हाम्रो राहदानी विश्वभरमा नै कमजोर अवस्थामा छ। सरकार आफ्ना कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा छ। हाम्रो सर्भिस डलिभरीमा नै समस्या छ। त्यसैको उपज नेपाली विद्यार्थी अवसरको खोजीमा विदेशीयका छन्।’ नेपाललाई एजुकेशन हबको रुपमा विकास गर्न सकिने आवाज उठेपनि नीतिगत जटिलताका कारण यसले मूर्तरुप पाउन सकेको छैन।
कार्यक्रमका अर्का विशिष्ट अथिति नेपाली सिनेमाका सुपरस्टार एंव सदावहार नायक रमेश उप्रेतीले परामर्श व्यसायीले राज्यलाई पुर्याएको योगदानको विषयमा चर्चा गर्दै एप्क्यानको प्रथम साधारण सभा सफलताको शुभकामना दिए।
कार्यक्रममा बोल्दै नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष शेषराज भट्टराईले परामर्श व्यवसायीका मुद्दामा सरकार सकारात्मक रहेको र सबै व्यवसायी एक ठाउँमा उभिएर साझा धारणा बनाउन आवश्यक रहेको बताए। सबै संघहरूबीच सहकार्य गरेर अघि बढ्नुपर्ने बताउँदै उनले भने, ‘परामर्श व्यवसायी संघहरू मिलेर महासंघको अवधारणमा एकै ठाउँमा उभिनुपर्छ।’
यसैगरी साधारण सभामा बोल्दै एप्क्यानका अध्यक्ष प्रज्वल बस्नेतले सबै व्यवसायीहरूसँग सहकार्य गरेर अघि बढ्ने र आफूले यस क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाएर व्यवसायीक उन्नयनमा अघि बढ्न पहल गर्ने बताए।
कार्यक्रमको स्वागत मन्तव्य राख्दै संघका उपाध्यक्ष हेमन्तराज दुललाले स्थापनाको छोटो समयमा नै यस संस्था एक दरिलो संस्थाको रुपमा उभिनुमा सम्पूर्ण सदस्यहरूको हात रहेको भन्दै धन्यवाद दिएका थिए।
कार्यक्रममा जालसानका अध्यक्ष रमेश देवकोटा, कोरिया शैक्षिक परामर्श संघ (केइक्यान)का अध्यक्ष गणेश शर्मा, सक्रिय शैक्षिक परामर्श संघ (एईक्यान) का उपाध्यक्ष केशवराज अर्याल, जालटानका अध्यक्ष राजेन्द्र केसी, आईडिपी आईईएलटीएसकी मतिना महर्जन, व्रिटिश काउन्सिलकी परीक्षा व्यवस्थापक प्रतिष्ठा थापाले आगामी दिनमा एप्क्यानसँग सहकार्य गर्दै अघि बढ्ने बताउँदै साधारणसभा सफताको शुभकामना दिएका थिए।
नयाँ कार्यसमिति चयन
यसैबीच एप्क्यानको प्रथम साधारणसभाबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ। प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा प्रज्वल बस्नेतको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा हेमन्तराज दुलाल र अर्जुनकुमार बस्नेत चयन भएका छन्। यसैगरी संघको महासचिवमा अनिल शर्मा पौडेल, सचिवमा अमित खड्का र कोषाध्यक्षमा दीपा लामिछाने सर्वसम्मत रुपमा चयन भएका छन्।
यसैगरी सदस्यहरूमा शंकर फुयाँल, सन्तोष बस्नेत, मदन उप्रेती, प्रज्वल खत्री र नरेश सेढाईं चुनिएका छन्।