काठमाडौँ- नेपालमा सञ्चालित जापानीज भाषा स्कुलहरूको छातासँगठन जालसानको एघारौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। जालसानले राजधानीमा एक कार्यक्रमकाबीच आफ्नो साधारण सभा सम्पन्न गरेको हो।
कार्यक्रममा बोल्दै जालसानका अध्यक्ष रमेश देवकोटाले जालसानले नेपालमा सञ्चालनमा रहेका स्कुलहरूलाई व्यवस्थित र मर्यादित बनाउने विषयमा भूमिका निर्वाह गर्दै आएको बताए।
हामीसँग थुप्रै अफ्ठ्यारा चुनौती र समस्याहरु छन्, त्यस्ता समस्या र चुनौतीको सामना गर्दै अगाडी बढ्नु छ,’ उनले भने, ‘अझैपनि जापान पढ्न जाने विद्यार्थीलाई दिइने नो अब्जेक्सन सर्टिफिेट (एनओसी)मा सरकारले विभेद गरिरहेको छ, यसलाई हटाउन विभिन्न माध्यमबाट पहल गरिरहेका छौं।’
शैक्षिक परामर्श क्षेत्रको उत्थानको लागि नीतिगत तहमा सरकारसँग समन्वय गर्न व्यवसायीहरुको एउटै छाता संगठन महासंघ हुनुपर्ने महसुस गर्दै नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघमा जाल्सान पनि आवद्ध भएको अध्यक्ष देवकोटाले जानकारी दिए।
उनले शैक्षिक परामर्श क्षेत्रका सबै संघसंस्थासँग समदूरी राख्दै सहकार्य गर्न जाल्सान तत्पर रहेको बताए। यतिमात्र नभई विभिन्न कालखण्डमा जाल्सानले सामाजिक कार्यमा पनि योगदान पुर्याएको स्मरण गरे।
उक्त साधारण सभाका प्रमुख अतिथी एवं जापानका लागि पूर्व राजदूत डा. गणेश योञ्जनले नेपालमा जापानी भाषा तथा शिक्षाको परामर्शको लागि जाल्सानले पुर्याएको योगदानको चर्चा गर्दै सदैव आफ्नो साथ सहयोग रहने बताए। जाल्सानको आग्रहमा विभिन्न कार्यक्रममा सहभागि हुने अवसर पाएको भन्दै उनले आगामी दिनमा पनि जापानीज भाषा, संस्कृती र शिक्षासम्बन्धी अझै प्रभावकारी परामर्शको लागि शुभकामना व्यक्त गरे।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले जाल्सान महासंघको एक दरीलो सदस्य रहेको बताए। व्यवसायीको हितका लागि फुटेर नभई जुटेर काम गर्नु पर्ने बताउँदै उनले जापानीज भाषा तथा शिक्षा परामर्श क्षेत्रका देखिएका समस्या हल गर्न महसंघले पहल गर्ने बताए। बरालले अहिले जापान पढ्न जाने विद्यार्थीहरुलाई शिक्षा मन्त्रालयले एनओसी दिने क्रममा झमेला सिर्जना गरिरहेको भन्दै यसको छिटै निराकरण हुने बताए। उनले महासंघलाई बलियो बनाउन र व्यवसायीको आवाज बुलन्द गर्न शैक्षिक परामर्श क्षेत्रमा रहेका विभिन्न संघ संस्थालाई एउटै छतामुनी आउन र हातेमालो गर्न आग्रह गरे।
त्यसैगरी इक्यान अध्यक्ष शेषराज भट्टराईले जाल्सानको उत्तरोउत्तर प्रगतिको कामना गर्दै जाल्सानले जापानीज भाषा तथा शिक्षा परामर्शको क्षेत्रमा साकुरा जस्तै सुगन्ध छोड्न सफल भएको बताए। उनले जाल्सान नेतृत्व र भइरहेको गतिविधिलाइृ नजिकैबाट हेरिरहेको बताउँदै आगामी दिनमा पनि सँगसँगै हातेमालो गरी अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा बाेल्दै आईरिन अध्यक्ष हेमन्त भट्टाराईले परामर्श व्यवसायमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जाेडदिँदै जालसानलाई व्यवसायीक हितमा काम गर्दै अघि बढ्न शुभकामना दिए।
यस्तै साधारण सभामा स्वतन्तत्र शैक्षिक परामर्श संघ (फेकन)का अध्यक्ष राजु निरौला, जुहानका अध्यक्ष डा. सुनील श्रेष्ठ, जानका महासचिव शान्तीलक्ष्मी शाक्य, इप्क्यानका अध्यक्ष प्रज्वल बस्नेत, जाल्टानकाे अध्यक्ष राजेन्द्र केसी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधले जाल्सानले पुर्याएको योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गरे।
कार्यक्रममा नेपालमा सञ्चालित शैक्षिक परामर्श व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।