भारत- सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले शान्तिको स्थापना र मानवअधिकारकाे प्रत्याभूतिदिन भगवान गाैतम बुद्ध र गुरु महावीरको मार्गमा हिँड्नु वर्तमान विश्वको आवश्यकता रहेको बताएका छन्।
भारतको विहार राज्यमा पर्ने वैशाली जिल्लाको स्वर्णजयन्ती समापन समारोहका अवसरमा वाेल्दै अध्यक्ष लामाले सार्क पत्रकार मञ्चले विश्वमा शान्ति स्थापना र मानवअधिकारको प्रत्याभूतिका लागि दक्षिण एसियाली मुलुकका पत्रकारले रचनात्मक भूमिका खेल्ने बताए। उनले भने,' भगवान् बुद्ध र महावीरको मार्गमा हिँड्नु अहिलेको आवश्यकता हाे।'
कार्यक्रममा बाेल्दै अन्तर्राष्ट्रिय लोकसंस्कृतिका संवाहक मरिससकी डा सरिता बुढुले भयावहता मानवताको ठूलो शत्रु भएकाले अहिंसाबाट मात्रै लोकतन्त्र र शान्ति स्थापना हुने बताइन्।
मञ्चका महासचिव मोहम्मद अब्दुर रहमानले वैशालीले विश्वलाई प्रजातन्त्रको सन्देश दिएको र लोकतान्त्रिक विचार फैलाएको बताउँदै सञ्चार क्षेत्रबाट आफूहरुको जागरण अभियान सञ्चालन गर्नुपर्ने धारण राखे।
वैशाली भगवान् महावीरको जन्मभूमि र भगवान् बुद्धको कर्मस्थल हुनाका साथै लोकतन्त्रको जननी पनि मानिन्छ। विश्वको पहिलो गणराज्य मानिने वैशालीको विश्वशान्ति स्तूपा क्षेत्रमा शनिबार र आइतबार ‘युद्ध, शान्ति र मानवअधिकार विषयक’ कार्यक्रम सञ्चालन भएकाे हाे।
कार्यक्रममा वैशाली जिल्ला प्रतिष्ठान, मानवअधिकार (टुडे पत्रिका), सार्क पत्रकार मञ्च (सार्क जर्नालिष्ट फोरम), विहार च्याप्टरको आयोजनामा भएको आम्रपाली कला साहित्य अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वशान्ति स्थापनाका लागि सञ्चार जगत्ले गर्दै आएको सचेतना र सहजीकरणको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिइएको थियाे।
विहार हिन्दी साहित्य सम्मेलन, पटनाका अध्यक्ष डा अनिल सुलभ, दूरदर्शन केन्द्र, पटनाका कार्यक्रम प्रमुख डा राजकुमार नाहर, सम्मेलनका संयोजक सम्पादक डा शशिभूषण कुमारलगायतले सम्मेलनमा प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा पद्मश्री पुरस्कार विजेता डा जीतेन्द्रकुमार, पद्मश्री राजकुमारी देवी र पद्मश्री डा शान्ति राईलगायतले युद्धले कुनै पनि समाजमा रहेका समस्याको समाधान नहुनेमा जोड दिए।
कार्यक्रममा मानवअधिकार, साहित्य पत्रकारकारिता क्षेत्रका विभिन्न व्यक्तित्वलाई विश्वशान्ति पुरस्कार र विहार साहित्य सम्मान प्रदान गरिएको थियो। सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश र मरिससबाट सहभागिता रहेको थियो।