काठमाडौँ- सरकारले सार्वजनिक शिक्षाको गुणस्तर सुधार गरेर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने योजना अघि सारेको छ। सरकारको योजना अनुरुप नै आफूलाई ‘नमुना विद्यालय’को रुपमा स्थापित गर्न सफल भएको छ काठमाडौँको बाफल स्थित ज्ञानोदय माध्यमिक विद्यालय।
भौतिक शैक्षिक पूर्वाधारले सम्पन्न बन्दै गएको विद्यालयमा विद्यार्थीको आकर्षण प्रत्येक बर्ष बढ्दो देखिन्छ। अहिले विद्यालयमा नर्सरीदेखि १२ कक्षासम्म ४ हजार ३३३ जना विद्यार्थी अध्ययनरत छन्। ८ रोपनि क्षेत्रफलमा फैलिएको विद्यालयमा २०७२ सालपछि निर्माण भएका दुईवटा अत्याधुनिक भवन र पुराना रेट्रोफिटिङ गरिएका भवनमा ७० वटा कोठा छन्। विद्यालयको परिसर भित्र बास्केटबल कोर्ट, टेवलटनिस कोर्ट पनि छन्। २०७० सालमा १९७२ विद्यार्थी भएको यस विद्यालयलाई २०७१ साल यता प्रधानाध्यापक एंव शिक्षाविद् धनञ्जय शर्मा सेवाबाट अवकास भएपछि नातिकाजि महर्जनले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका छन्।
महर्जनले नेतृत्व गरेयता विद्यार्थीको संख्याको ग्राफ पनि उकालो लाग्दै गएको छ। २०७१ मा १९ सय ७३, ०७२ मा २ हजार ६७, ०७३ मा २ हजार १, २०७४ मा २ हजार २३७, ०७५ मा २ हजार ५०१, ०७६ मा २ हजार ७५०, ०७७ मा ३ हजार ३४५, ०७८ मा ३ हजार ५५७ र ०७९ मा ४ हजार ३३३ विद्यार्थीसंख्या पुगेको हो। विद्यालयमा छात्र भन्दा छात्राको संख्या पनि बढी छ। २ हजार १६१ जना छात्र र २ हजार १७२ जना छात्रा अध्यनरत छन्। विद्यालयले नर्सरीमा नै एक सय जना विद्यार्थी भर्ना लिने गरेको छ।
प्रधानाध्यापक महर्जन भन्छन्,‘विद्यालयमा भर्ना हुन आवेदन दिने त धेरै हुन्छन् तर सबैलाई लिन सकिदैन। अहिले नर्सरीमा मात्र एकसय जना भर्ना लिन सक्ने क्षमता छ। शिक्षक व्यवस्थापन नीजी स्रोतबाट गर्नुपर्ने अवस्था भएपनि धेरै विद्यार्थी भर्ना गर्न कोठा नै अपुग हुन्छ।’ महर्जनले २०४६ सालदेखि विद्यालयमा अध्यापन गर्दै आएका छन्।
विद्यालयको बालबिकास (ईसीडी) तहको ११ वटा सेक्सनमा ४९२ जना विद्यार्थी अध्ययनरत छन्। कक्षा १ देखि ३ सम्म १० वटा सेक्सन, कक्षा ४ मा ४ वटा, कक्षा ५ मा ५ वटा, कक्षा ६ मा ६ वटा, कक्षा ७ मा ७ वटा, कक्षा ८ मा ८ वटा, कक्षा ९ मा ९ वटा र कक्षा १० मा ८ वटा सेक्सन छन्। विद्यालयले उपल्लो कक्षामा भर्ना हुन आउने एक सेक्सन नयाँ विद्यार्थीलाई अवसर दिने गरेको छ।
सरकारले सामुदायिक विद्यालयको भौतिक शैक्षिक पूर्वाधार सुधार गर्दै गुणस्तर विकासमा जोड दिन विद्यालय शिक्षा सुधार कार्यक्रम, विद्यालय शिक्षा विकास कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत आएको बजेटले विद्यालयको स्वरुप नै परिवर्तन भएको छ। काठमाडौँ महानगरपालिका, प्रदेश सरकार र एसियाली विकास बैंकको सहयोगमा भौतिक शैक्षिक पूर्वाधार निर्माण भएका छन्। यसले ज्ञानोदय माविलाई देशकै ‘नमुना विद्यालय’ बन्न मद्दत गरेको छ।
विद्यालयले विद्यार्थीलाई बस सेवा उपलव्ध गराएको छ। २०६८ साल यतो अंग्रेजी माध्यमबाट अध्यापन गराउँदै विद्यालयमा दुईवटा अत्याधुनिक आईसीटी ल्याव, विज्ञान प्रयोगशाला रहेका छन्। शैक्षिक गुणस्तर पनि निजी विद्यालयको भन्दा कम छैन। प्रत्येक बर्ष सयौँको संख्यामा विद्यार्थीहरू निजी विद्यालय छाडेर यस विद्यालयमा भर्ना हुन आवेदन दिने गरेका छन्। विद्यालयले प्रवेश परीक्षा लिएर मात्रै विद्यार्थी भर्ना गर्ने गरेको छ।
विद्यालय व्यवस्थापन समितिको भूमिका, शिक्षक कर्मचारीको मिहनत र अभिभावकको विश्वासले विद्यालयले राम्रो नतिजा निकाल्न सफल भएको प्रधानाध्यापक महर्जनको भनाइ छ। विद्यालयले ईसीडी कक्षा, कक्षा ११ र १२ आन्तरिक श्रोतबाट व्यवस्थापन गर्दै आएको छ। विद्यालयले अभिभावकसँग कक्षा अनुसार सहयोग रकम पनि लिने गरेको छ। विद्यालयले मासिक २५० देखि ३०० शूल्क अभिभावकसँग सहयोगको रुपमा लिने गरेको छ। कक्षा १० मा भने अभिभावकले मासिक ७०० शूल्क निर्धारण गरिएको छ। यस्तै कक्षा ११ र १२ मा व्यवस्थापन तर्फका विद्यार्थीले ९०० र विज्ञान तर्फका विद्यार्थीले १५०० शूल्क तिर्छन्।
अभिभावकसँग सहयोग लिदाँ विद्यालय र अभिभावक दुवै शैक्षिक गुणस्तरको विषयमा बढी जिम्मेवार हुने प्रअ महर्जनले अनुभव सुनाए। विद्यालयले ३९-४० साल तिरैबाट नर्सरी र केजीको रुपमा ईसीडी कक्षा सुरु गरेको थियो। प्रअ महर्जनका अनुसार नीजी विद्यालयसँग प्रतिस्पर्धी बनेर सामुदायिक विद्यालयले गुणस्तर प्रदान गर्न अभिभावकलाई पनि आफूले राम्रो विद्यालयमा भर्ना गरेको अनुभूति दिलाउनु पर्ने हुन्छ।
‘विद्यालय यत्तिकै निरन्तर राम्रो नतिजा निकाल्न सक्दैन। यसका लागि रत्नबज्राचार्य सरले मिहनत गर्न सिकाउनुभयो। त्यसलाई धनञ्जय सरले निरन्तरता दिनुभयो। विद्यालयको गुणस्तरको विषयमा भएको मौखिक प्रचारले यस स्कूललाई समुदायमा स्थापित गर्ने अवसर जुट्यो। विद्यालयले एसईई र एसएलसीमा उत्कृष्ट नतिजा निकाल्न सफल छ।’प्रअ महर्जन भन्छन्,‘विद्यालयको एसईईको नतिजालाई फोकस गरेर फलानो स्कूल राम्रो नराम्रो भन्ने प्रचलन छ। विद्यालयमा आउने नयाँ अभिभावकले यहाँको शैक्षिक पूर्वाधार हेर्नुहुन्छ। विद्यालयले गरेको विभिन्न विषयका प्रयोगशाला र पुस्तकालयको व्यवस्थापन, व्यवहारीक र नैतिक शिक्षा, समस्टिगत शैक्षिक वातावरण नै यहाँको बलियो पक्ष हुन्।’ विद्यालय परिसर भित्रै क्यान्टिन शुविधा पनि छ। विद्यालयमा सबै बर्गका विद्यार्थी अध्ययन गर्ने गरेका छन्। सबै समुदाय, जाति जनतातिका विद्यार्थीको समिश्रण छ।
विद्यार्थीसंख्या र पूर्वाधारको कुरा गर्दा विद्यार्थीसंख्या बढ्सँगै भौतिक पूर्वाधार पनि बढ्दै गएको अवस्था छ। कक्षाकोठामा राम्रो सिकाइ भए नै उत्कृष्ट नतिजा आउने प्रधानाध्यापक महर्जन बताउँछन्, 'नीजी विद्यालयमा चलिरहेको एजुकेशन सिस्टमलाई सरकारी विद्यालयले पनि अनुसरण गर्नुपर्छ। राम्रो उत्कृष्ट विद्यालयको अभ्यासलाई हामीले लागु गर्न सक्नुपर्छ। विद्यालको नतिजालाई नै पठनपाठनको आधार मान्ने गरिएको छ। स्कुल राम्रो छ भन्ने वित्तिकै अभिभावक पनि त्यहाँ विद्यार्थी भर्ना गर्न उत्साहित हुन्छन्। हाम्रो मुख्य ध्यान कक्षाकोठको सिकाइलाई कसरी प्रभावकारी र व्यवस्थित बनाउने भन्नेमा केन्द्रित छ।’उनले भने,‘अनुभवी र मिहिनेती शिक्षक समुह, सिकाइमा शैक्षिक सामाग्रीको प्रयोग, अनुशासित र मिहिनेती विद्यार्थी समुह र अध्यापनरत शिक्षकले आफ्नो स्कुलको बारेमा पोजेटिभ कुरा गर्दा समुदायमा सकारात्मक सन्देश जान्छ। विद्यालयको कुशल व्यवस्थापन पनि सफलताको प्रमुख कारक हो।’
विद्यालयमा अध्यापनरत शिक्षक विष्णुप्रसाद ज्ञवालीले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै प्रतिस्पर्धी बजारमा गएर काम गर्न सक्ने दक्ष रुपमा अघि बढ्न जग नै बलियो बनाउनेगरी योजनावद्ध रुपमा अघि बढेको बताए। उनले भने,‘ विद्यार्थीलाई केन्द्रमा राखेर शैक्षिक गुणस्तरका सवालमा हामीले ध्यान दिएका छौँ। विद्यार्थीले प्रयोगात्मक अभ्याससँगै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौँ। शिक्षकले भोलिको शिक्षण सिकाइका लागि घरमा गृहकार्य गर्नुहुन्छ। लेसन प्लानिङ बनाउनुहुन्छ। विद्यार्थी र शिक्षकका समस्याका सबै मिलेर समाधान गर्ने गरेका छौँ।’
विद्यालयमा प्रिन्सिपलले शिक्षकलाई काम गर्न उत्साहित बन्न प्रेरित गर्नुपर्ने र अभिभावकिय भुमिका निर्वाह गर्न सके विद्यालय व्यवस्थापन सँगै शैक्षिक गुणस्तर पनि सुधार भएर नमुना विद्यालयको रुपमा स्थापित हुने उनको भनाइ छ।
प्राधानाध्यापक महर्जनले स्कुल प्रतिको अभिभावकको विश्वासले नै सफलता हासिल गर्न सक्ने बताउछन्। उनी भन्छन्,‘अहिले ज्ञानोदय स्कुलको पढाई कस्तो छ। हेरौँ न भनेर पनि अभिभावकले विद्यार्थी भर्ना गर्ने गरेका छन्। कोभिड महामारी पश्चात ज्ञानोदय माविमा विद्यार्थीको चाप बढेको छ। नीजी विद्यालय छाडेर यस विद्यालयमा विद्यार्थी भर्ना हुन आएको अवस्था छ। निरन्तर राम्रो नतिजा दिँदा हामीलाई अभिभावकले विश्वास गर्नुभएको छ। हाम्रो विद्यालयमा शिक्षक विद्यार्थी र अभिभावकका बीचमा त्रिपक्षिय दरिलो सम्बन्ध स्थापित भएको छ। यसले विद्यालयलाई उत्कृष्ट बन्न सहयोग पुर्याएको छ।’
प्रधानाध्यापक महर्जन भन्छन्,‘ जहाँ विद्यार्थी पढ्छन् त्यो विद्यालय हो। भौतिक संरचना हुँदैमा मात्र विद्यालय हुँदैन। हामी शिक्षक, विद्यार्थी र अभिभावक उत्तीकै मिहिनेत गर्छौ। हामी हरेक दिन सिकाइ योजना बनाउने, शैक्षिक सामाग्री खोज्ने र कक्षामा लिएर जाने, विद्यार्थीसँग मित्रवत् व्यवहार गरेर सिकाउँछौँ। विद्यार्थीबीचमा कुनै भेदभाव हुँदैन।’
विद्यालयले यस बर्ष मात्रै काठमाडौँ उपत्यकाकै वेष्ट प्रिन्सिपल अवार्ड, बेस्ट अकाउन्टेन्ट अवार्ड, नेपाल टेलिकमले प्रदान गरेको आईसीटी अवार्ड लगायतका अवार्ड प्राप्त गर्न सफल भएको छ।
निरन्तर उत्कृष्ट नतिजा
विद्यालयले एसईईमा २०७२ सालमा २८ जना, ०७३ मा ४८, ०७४ मा ३१, ०७५ मा ६०, ०७६ मा १९७, ०७७ मा २४९ र ७८ सालमा ४९ जनाले एप्लस नतिजा ल्याउन सफल भएका थिए।कक्षा १२ को प्राविधिक धार तर्फ पनि काठमाडौँ महानगरकै सर्वोत्कृष्ट स्कुल बन्न सफल भएको छ। गत बर्ष ३८५ जना विद्यार्थी एसईई र टीएसईईमा सहभागि भएका मध्य ४९ जनाले ४९ जनाले एप्लस, १०७ जनाले ए, ११८ जनाले बीप्लस, ७२ जनाले बी, ३५ जनाले सी प्लस र २ जनाले सी ग्रेड ल्याएका थिए। यसवर्षको एसईईमा विषयगत औषत नतिजा पनि उत्कृष्ट रहेको छ। २०७७ सालको एसईईमा ३१३ जना विद्यार्थी सहभागि भएका मध्य २४९ जनाले एप्लस र ६४ जनाले ए ग्रेड ल्याउन सफल भएका थिए।
सिकाइमा प्रविधिको प्रयोग
विद्यालयले सिकाइमा प्रविधिको प्रयोगलाई जोड दिँदै आएको छ। आईसीटी ल्याव, डिजिटल ल्याव, स्मार्ट बोर्ड कक्षा सञ्चालनमा ल्याएको विद्यालयले हिउँदे, गर्मी र दशैँ बिदामा समेत अनलाइन मार्फत अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ। कक्षा ४ देखि नै कम्प्युटर कक्षाको पढाइ हुँदै आएको विद्यालयका प्रधानाध्यापक महर्जन बताउँछन्।
उनका अनुसार विद्यालयले मन्टेश्वरी माध्यममा पूर्व प्राथमिक कक्षा सञ्चालन गर्दै आएको छ। विद्यार्थीहरू विभिन्न खालका चित्र बनाएर डिकोडेबल लर्निङ मेथडबाट अध्ययन गर्छन्,‘हाम्रा विद्यार्थीहरू किताबको चित्र हेरेर भन्दा पनि आफै बनाएर पढ्छन्। बोर्डमा चित्र बनाउने भन्दा पनि इन्टरनेटमा वास्तविक बस्तु हेरर सिक्छन्। हेर्दै सिक्दै पढ्दै गर्दा विद्यार्थीले चाडै सिक्न सक्छन्।’