काठमाडाैँ- लाइसेन्स नवीकरणमा ढिलाई गर्नाले अनावश्यक रुपमा जरिवाना तिर्नुपरेकाे गुनासाे चालकहरूकाे छ। जरिवानामा परिन्छ भन्ने थाहा नहुँदा र नवीकरण गर्नुपर्ने मिति याद नुहुँदा धेरैजसो चालकहरु शतप्रतिशत जरिवानामा पर्ने गरेको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख राजकुमार कपालीले जानकारी दिए।
सवारी चालक अनुमति पत्रको नवीकरण कहिले गर्ने ? ढिलाई भए जरिवाना कति ?
सवारी चालक अनुमतिपत्रको नवीकरण कहिले गर्नुपर्छ र शुल्क जरिवाना के कति लाग्छ? धेरैलाई थाहा नहुन सक्छ। त्यसैले धेरैजसोले लाइसेन्स नवीकरणमा आलटाल गरिरहेका हुन्छन्।
हाल अवधि समाप्त भएको मितिले ९० दिनभित्र पनि सवारी चालक अनुमतिपत्र नवीकरण नगराएमा सो मिति समाप्त भएको एक वर्षसम्म १०० प्रतिशत, दुइ वर्षसम्म २०० प्रतिशत, तीन वर्षसम्म ३०० प्रतिशत, चार वर्षसम्म ४०० प्रतिशत र पाँच वर्षसम्म ५०० प्रतिशत थप जरिवाना र दस्तुरसमेत तिर्नुपर्नेछ।
यस्तो नवीकरण पाँच वर्षका लागि कायम रहनेछ। पाँच वर्षम्म पनि नवीकरण नगराएको चालक अनुमतिपत्र स्वतः रद्ध हुनेछ र यस्तो अनुमतिपत्रको नवीकरण नहुने यातायात व्यवस्था विभागले जनाएको छ।
सवारी चालक अनुमतिपत्रको नवीकरण दस्तुरवापत ठूला सवारीका लागि ३ हजार रुपैयाँ , मझौला सवारीका लागि २ हजार ५ सय रुपैयाँ, मोटरसाइकल, स्कुटर बाहेकका साना सवारीका लागि २ हजार रुपैयाँ र मोटरसाइकल, स्कुटरका लागि १५०० रुपैयाँ लाग्नेछ। तर एउटै चालक अनुमतिपत्रमा एकभन्दा बढी किसिमका सवारी चलाउने इजाजत पाएका हकमा सबैभन्दा बढी दस्तुर लाग्ने सवारीको दस्तुर मात्र लाग्ने विभागले जनाएको छ।