काठमाडाैँ- अमेरिका नेपाली विद्यार्थीको ‘ड्रिम कन्ट्री’को रुपमा स्थापित छ । अमेरिका बसोबासका हिसाबले होस् या अध्ययनका लागि प्रत्येक बर्ष नेपालबाट जाने गरेका छन् । नेपालबाट उच्चशिक्षा हासिल गर्न जाने विद्यार्थीको रोजाइको गन्तव्य अमेरिका हो ।
विश्वका धेरै राष्ट्रमा नेपाली विद्यार्थी शैक्षिक अवसर खोज्दै पुगेका छन् । तीमध्ये अष्ट्रेलिया, जापान, क्यानडा, युके र अमेरिकाजस्ता विकसित राष्ट्रप्रति विद्यार्थी विशेष आकर्षित हुँदै आएका छन् । गुणस्तरीय शिक्षा प्रदान गर्ने र पार्टटाइम काम गरेर पनि अन्तर्राष्ट्रिय शैक्षिक उपलब्धी हासिल गर्ने भएका कारण विद्यार्थीले विदेशी विश्वविद्यालयहरूको अवसर खोज्छन् । अमेरिकामा विश्वका प्रसिद्ध विश्वविद्यालय हुनुका साथै त्यहाँ आफ्नो भविष्य सुनिश्चित गर्न धेरैले आफ्नो गन्तव्य बनाएका छन् ।
अमेरिकाका विश्वविद्यालयले नेपाली विद्यार्थीलाई छात्रवृत्ति पनि उपलब्ध गराउदै आएका छन् । क्यानडा र अस्ट्रेलियाको तुलनामा शिक्षण शुल्क त्यति महँगो पनि छैन।
अमेरिकामा अध्ययन र कामका लागि समय व्यवस्थापन गर्न सहज हुने दावि विश्वविद्यालयको छ । नेपालबाट विद्यार्थीले कक्षा १२ र अंग्रेजी भाषा परीक्षामा ल्याएको स्कोरको आधारमा छात्रवृत्ति प्राप्त गर्ने दीक्षा इन्टरनेशनलका कार्यकारी निर्देशक शेखर आचार्यले बताए ।
उनले भने‘अमेरिका अध्ययनमा जाने विद्यार्थी आत्मविश्वासी हुनुपर्छ । उ किन अमेरिका जान लागेको हो स्पष्ट हुनुपर्छ । विद्यार्थीले नियमित रूपमा अध्ययन गर्ने तथा समयमै असाइनमेन्ट पेस गरेको खण्डमा राम्रो अंक ल्याउदा पनि विश्वविद्यालयले छात्रवृत्ति दिने हुँदा अमेरिकामा पढाइ सहज छ । गुणस्तरीय र प्रयोगात्मक शिक्षण पद्धति भएकाले नियमित कक्षा लिएको खण्डमा उत्कृष्ट अंक ल्याउन सकिन्छ । अमेरिकामा अध्ययन गरेपछि विश्वका जुनसुकै राष्ट्रमा पनि अवसरको ढोका खुल्छ ।’
अमेरिकाले राम्रो शैक्षिक प्रगति विवरण भएका मेहनती तथा जेहेन्दार विद्यार्थीलाई भिसा दिन त्यति कडाइ नगर्ने बताउँदै उनले भने, ‘शिक्षाको गुणस्तरको सवालमा अमेरिका विश्वकै उत्कृष्ट राष्ट्र हो र त्यहाँ जाने विद्यार्थीहरू नितान्त पढ्नका लागि जान्छन् । राम्रो शैक्षिक प्रगति विवरण भएका विद्यार्थीहरूले अहिले सजिलै भिसा पाउने गरेका छन् ।’
गत वर्ष अमेरिकामा अध्ययन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ३ हजार ९ सय ७० जनाले नो अब्जेक्सन लेटर (एनओसी) लिएका थिए । एनओसी प्रगति विवरणका आधारमा धेरै विद्यार्थी जाने गन्तव्यमा अमेरिका पाँचौं स्थानमा रहेको छ । ७० राष्ट्रको सूचीमा अमेरिका पाँचौँ स्थानमा परेको हो ।
शिक्षा प्रणाली
संयुक्त राज्य अमेरिकामा चारहजार भन्दा बढी शिक्षण संस्थाहरू छन् र यहाँ एमआईटी, हार्वर्ड र स्ट्यानफोर्ड जस्ता प्रतिष्ठित विश्वविद्यालयहरू छन् । अमेरिकाको लचिलो शिक्षा प्रणाली, विद्यार्थीहरूलाई अध्ययनका विविध क्षेत्रहरू अन्वेषण गर्न अनुमति दिने भएकाले पनि शिक्षणसंस्थाहरू विद्यार्थी केन्द्रित छन् । लोकप्रिय विश्वविद्यालयहरूमा वेस्टक्लिफ विश्वविद्यालय, वेबस्टर विश्वविद्यालय, एल्म्रस्ट विश्वविद्यालय, नर्थ टेक्सास विश्वविद्यालय, सान फ्रान्सिस्को स्टेट विश्वविद्यालय, सेन्ट्रल मिशिगन विश्वविद्यालय लगायतका शिक्षणसंस्थाप्रति विद्यार्थीको आकर्षण छ । यहाँको शिक्षा प्रणाली अन्वेषण, खोज अनुसन्धानमा केन्द्रित छ ।
सहुलियत शुल्क
अमेरिकामा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति र वित्तीय सहायताका विकल्पहरू उपलब्ध छन् । अमेरिकामा शिक्षण लागत संस्था अनुसार फरक हुन्छ, वार्षिक १५ हजार डलरदेखि ४० हजार डलरसम्म शिक्षण शुल्क लाग्छ । विद्यार्थीले फुलब्राइट छात्रवृत्ति, योग्यतामा आधारित छात्रवृत्ति, उत्कृष्टतामा आधारित छात्रवृत्ति प्राप्त गर्छन् । त्यसैले पनि विद्यार्थीलाई कम खर्च पर्न जान्छ ।